काठमाडौँ- नेकपाको स्थायी कमिटीको बैठकले हालै लिम्पियाधुरा उद्गमस्थल रहेको कालीनदी पूर्वको नेपाली भू–भागसमेत समावेश गरेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अस्वीकार र अमान्य घोषणा गरेको छ ।
नेपालीे भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको अतिक्रमणप्रति बैठकले गम्भीर ध्यानाकर्षण जनाउँदै अतिक्रमित भू–भाग फिर्ता गर्न, त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर हटाउन आवश्यक कदम चाल्ने निर्णय गरेको छ ।
नेपाल–भारत समस्याका सम्बन्धमा विगतमा परराष्ट्र सचिवस्तरीय संयन्त्रमा छलफल गरी समस्या समाधान गर्ने सहमति र प्रयास भइरहेकामा त्यस विपरीत प्रकाशित नक्शा आपत्तिजनक रहेको बैठकले ठहर गरेको छ । यस समस्याको छिटो समाधान गर्न आवश्यक कूटनीतिक र राजनीतिक प्रयास हुनुपर्नेमा बैठकले जोड दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“यस सन्दर्भमा नेपाल सरकारले लिएको अडान, सबै राजनीतिक दल, सङ्घ–संस्था र सरोकारवालासँग गरेको सर्वपक्षीय तथा सर्वदलीय बैठकको आयोजना र त्यसमार्फत् सिङ्गो देशको एउटै दृष्टिकोण, धारणा तथा अडान बनाउन गरेको पहललाई बैठकले उचित कदमका रूपमा लिएको छ । यसरी सिङ्गो राष्ट्रको साझा अडान बनाउन सहयोगी भूमिका खेल्ने सबै राजनीतिक दल र पक्षलाई बैठकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

बैठकले पार्टी केन्द्रीय कार्यालय भवन अविलम्ब निर्माण गर्ने निर्णय पनि गरेको छ । साथै विभिन्न स्थानमा सिमाना र दसगजा मिचिएको तथा नेपालले आफ्नो भू–भागमा गर्न लागेका निर्माण कार्यमासमेत भारतीय पक्षबाट अवरोध सिर्जना भएकाले यस विषयमा तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया