काठमाडौँ- राजधानी काठमाडौँको चावहिलको पशुपति क्याम्पसमा अध्ययनरत एक छात्रालाई बसले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि बिहानैदेखि चावहिल क्षेत्र तनावग्रस्त छ ।
बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी २१ वर्षीया सृष्टि पन्तलाई सोमबार बिहान ५ः४५ बजे मध्यपुर ठिमी यातायातअन्तर्गतको बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएको हो । सोही घटनालाई चावहिल क्षेत्रमा यातायात अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् ।
घाइते पन्तको अवस्था गम्भीर रहेको बताइएको छ। पन्तको ओम अस्पताल चावहिलमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
पन्तलाई सुकेधारामा बसले ठक्कर दिएको हो । ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीले अन्य गाडीमा तोडफोड र आगजनी गरेका हुन् । ‘छात्रालाई ठक्कर दिने गाडी र चालकलाई महाराजगञ्ज प्रहरीले नियन्त्रणमा लिइएको छ,’ बोगटीले भने, ‘अहिले चावहिल क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ ।’
विद्यार्थीले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेका छन् । प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो ।
झडपमा परी केही विद्यार्थी र प्रहरी घाइते भएका छन् । पशुपति क्याम्पस वरपर ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सवारीसाधनमा ढुंगामुढा गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको डिएसपी बोगटीले जानकारी दिए ।