काठमाडौँ- महानगरीय प्रहरी परिसर काठमाडौँले बालाजु आसपासका क्षेत्रबाट १२२ जना चिनियाँ नागरिकलाई आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ । परिसरले केन्द्रीय अनुसन्धान ब्यूरोसँगको समन्वयमा उनीहरुलाई पक्राउ गरेको हो ।
एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलोपटक भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अशोक सिंहले बताए ।
प्रहरीलाई आएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरले जनाएको छ । उनीहरु ‘एटिएम ह्याकिङ’ लगायतका आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उनीहरुमध्ये कतिपयसँग प्रवेशाज्ञापत्र (भिसा)समेत नभएको पाइएको छ । उनीहरुको साथबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका सामग्री पनि बरामद गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । उनले भने, “सम्बन्धित व्यक्ति पक्राउ परेकाले हामी थप अनुसन्धान अघि बढाउनेछौँ ।”

प्रहरी निरीक्षकहरुको सरुवा

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयानुसार ४४३ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।
सरुवा भएका प्रहरी अधिकृतहरुलाई पुस महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी व्यवस्था मिलाइएको कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ । कार्यालयले राष्ट्रिय किताबखाना (प्रहरी)लाई अभिलेखमा आवश्यक व्यहोरा मिलाउन अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया