
चितवन – सरकारले तमु ल्होसारको बिदा कटौती गरेकोमा चितवनका गुरुङ समुदायले आपत्ति जनाएका छन् । मंगलबार भरतपुरको तीन खोले गुम्बामा पत्रकार सम्मेलनको आयोजना गर्दै तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद चितवनले सरकारको बिदा कटौती प्रति आपत्ति जनाएको हो ।
परिषदका अध्यक्ष गणेश बहादुर गुरुङले वर्तमान सरकारले नेपालको राष्ट्रिय गान ‘सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली’ को भावलाई आत्मासात गर्न नसकेको बताए । सरकारको उक्त कदमले सम्पूर्ण आदिबासी जनजातीहरुको पहिचान, अस्तित्व र अधिकार प्रती ठाडो प्रहार गरेको उनको भनाई थियो । यसले समृद्व नेपाल निर्माण अभियानलाई झनै कमजोर बनाउने उनले बताए ।
उनले सरकारले समृद्विको नाममा काम गर्नु पर्ने बाहाना बनाई बिभेदकारी निती ल्याएको परिषदले ठहर गरेको बताए । नेपालको लोकतान्त्रिक अन्तरिम सरकारले गुरुङ लगायत आदिबासी जनजाती तथा सिमान्तकृत समुदायले मान्ने चाडपर्वमा बिदा दिदै आएकोमा वर्तमान सरकारले कटौती गरेर बिभेदपूर्ण व्यवहार गरेको गुरुङले आरोप लगाए ।
उनले गत बर्ष देखी नै बिदा कटौतीको निर्णय फिर्ता लिन पटक पटक सरकारलाई आग्रह गर्दा पनि सुनुवाई हुन न सकेको बताउदै सरकारले गत बर्ष नै बिदा कटौतीको निर्णय फिर्ता लिने आश्वासन दिए पनि यस बर्ष फेरी कटौती गरेको बताए ।
सार्वजनिक बिदा कटौती भएको बिरोधमा यस बर्षको तमु ल्होसार पर्वको कार्यक्रमको स्वरुप परिवर्तन गरेर शान्तीपूर्ण आन्दोलनहरु गरिने उनले जानकारी दिए । पहिलो चरणमा गत पौष ६ गते देशैभर प्ले कार्ड सहित शान्तीपूर्ण आन्दोलन गरिएको थियो । पौष ६ र ७ गते देशको सातवटै प्रदेशका मुख्य मन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको थियो । यस्तै १३ गते राजनीतिक दलका प्रतिनिधि र स्थानिय जनप्रतिनिधी सहितको उपस्थितीमा चियापान कार्यक्रम आयोजना गरिएको र सोही कार्यक्रम मार्फत बिदा कटौतीको बिषयमा कुटनितिक छलफल हुने बताईएको छ । यस बाहेक बिभिन्न सांकेतिक रुपमा विरोधका कार्यक्रमहरु पनि गरिने पेरिषदका अध्यक्ष गुरुङले बताए ।
तमु ल्होसारमा बिभिन्न कार्यक्रम गरिदै
गुरुङ जातीहरुको महान पर्व तमु ल्होसार चितवनमा पनि भव्यताका साथ मनाइदैछ । सरकारले तमु ल्होसारको बिदा कटौती गरेको विरोधमा हुने बिभिन्न कार्यक्रमसँगै ल्होसार पनि भव्य रुपमा मनाउने तमु ल्होसार पर्व मूल समारोह समितीका अध्यक्ष गणेश बहादुर गुरुङले जानकारी दिए । सधैं झै यस बर्ष पनि महाबौद्द गुम्बा तीनखोलेमा विविध कार्यक्रम सहित तमु ल्होसार मनाउने तयारी भईरहेको गुरुङले बताए ।
ल्होसारको अवसरमा १३ गते जिल्लाका बिभिन्न सजातिय संघ संगठन, राजनीतिक दलका प्रतिनिधि र स्थानिय जनप्रतिनिधी सहितको उपस्थितीमा चियापान कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए । यस्तै १४ गते बिभिन्न खेलकुद तथा नृत्यका कार्यक्रमहरु गरिने तथा सोही दिन राती मृग वर्ग (फोल्हो) लाई बिदाई र मुसा बर्ग (च्युल्हो) लाई स्वागत गरिनेछ । १५ गते मुख्य दिन पनि बिभिन्न कार्यक्रम गरिने समितीले जनाएको छ ।
ल्होसारको अवसरमा बिभिन्न व्यक्तीहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । तमु समुदायबाट चार्टर एकाउण्ट गरेका, डाक्टरमा एम.डि गरेका र नर्सिङ गरेका ब्यक्तीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । यस्तै १५ गते खुल्ला रक्तदान र निशुल्क स्वास्थ्य परिक्षण गरिने तथा प्रत्येक बर्ष रोहित घले स्मृति प्रतिष्ठान र निलम गुरुङ स्मृति अक्षयकोषद्वारा प्रदान गरिदै आएको छात्रवृत्ती बितरण कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ ।