अजित अधिकारी
चितवन । माडीमा काँग्रेसद्धारा शोक सभा कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस माडी नगर समितिको आयोजनामा माडी नगरपालिका वडा नं ६ मा मंगलबार शोक सभा सम्पन्न भएको हो । नेपाली काँग्रेसका जेष्ठ सदस्य स्व. कमलनाथ अधिकारीको स्वर्गारोहणको ९ औं पुण्यतिथिमा शोक सभा गरिएको हो । स्व. अधिकारीको १०१ वर्षको उमेरमा गत मंशिर ३० गते आफ्नै निवासमा निधन भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस चितवनका सचिव राजीव न्यौपानेले स्व. अधिकारीले नेपाली काँग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गदैै अधिकारीले आफ्नो जन्मथलो लमजुङको दुरा डाँडामा गर्नुभएको सामाजिक चेतना तथा माडीमा स्वास्थ्य सुविधा नहुँदा वैद्यको रुपमा गर्नुभएको भूमिकाका बारेमा प्रष्ट पारेका थिए । कार्यक्रमका वक्ताहरुले स्व. अधिकारीको सामाजिक जीवन माथि प्रकाश पारेका थिए ।
सो कार्यक्रममा नेपाली काँग्रेसकी महासमिति सदस्य सबिता बराल, चितवन क्षेत्र नं ३ (ख) का सभापति लालबहादुर दुवाडी, महाधिवेशन प्रतिनिधी हरिप्रसाद पौडेल, नेकपा माडीका ईञ्चार्ज प्रेमराज तिमिल्सिना, वडा नं ६ का वडा अध्यक्ष भरतबहादुर गुरुङ, नेपाल तरुण दल चितवनका उपाध्यक्ष निरञ्जन सुवेदी, नेपाल महिला संघ माडीकी अध्यक्ष शिवमायाँ भट्टराईले शोक मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला, क्षेत्र ,नगर तथा वडा तहका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।
काँग्रेस नगर सचिव लोकनाथ लामिछानेले सहजीकरण गरेको उक्त कार्यक्रममा स्व. कमलनाथ अधिकारीका नाति मधु अधिकारीले स्व. अधिकारीको जीवनी प्रस्तुत गरेका थिए भने बुहारी तथा नेपाली काँग्रेस माडी नगर समितिकी उप सभापति प्रेमकुमारी अधिकारीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन । उक्त शोकसभा नेपाली काँग्रेस माडीका सभापति कोमलनाथ भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो ।