
महेश पाण्डे
चितवन- नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूसंरचना सबैको आँखामा परेको बताएका छन् । उनले दुई ठूला छिमेकीको बीचमा नेपाल रहेको बताउँदै विश्व शक्तिको केन्द्र एसिया बन्दै गएको अवस्थामा नेपालको भूभाग सबैको आँखामा परेको बताए ।
बिहीबार चितवनको रत्ननगरमा नेपाल जेसीजको ४६औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले पहिला विश्वको शक्ति केन्द्र बेलायत, अमेरिका हुँदै अहिले एसियामा आउन लागेकोले नेपाल सबैको आँखामा परेको बताएका हुन् । उनले यस विषयमा युवाहरु गम्भीर हुन आवश्यक रहेको उल्लेख गरे ।
चितवनको रत्ननगरमा नेपाल जेसीजको मंगलबारदेखि सुरु भएको महाधिवेशन पुस १२ गतेसम्म चल्नेछ । महाधिवेशनने सन् २०२० को लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रचण्डले नेपाल सानो भए पनि साह्रै सानो नभएको र थोरै जनसंख्या भए पनि साह्रै थोरै जनसंख्या नभएको उल्ल्ेख गर्दै नेपालभन्दा पनि धेरै साना देशहरु विश्वमा रहेकोले अन्य देशको ध्यान सकारात्मक र ध्वंसात्मक दुवै खालको रहेको बताए ।
उनले सन् २०११ र २०१७ को महाधिवेशनमा पनि प्रमुख अतिथि रहेको स्मरण गर्दै आफू पनि जेसीज नै रहेको जस्तो लाग्न थालेको बताए ।
कार्यक्रमका सभापति एवम् नेपाल जेसीजका अध्यक्ष महेश पौडेलले हालका दिनमा युवाहरु विदेसिने माहोल बढेको र मृत्युवरण गरेर आउनेको संख्या पनि उल्लेख्य रहेकाले देशमै रोजगारीको अवस्था सृजना हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा रत्ननगर नगरपालिककाका मेयर नारायण वनले विदेसिएका युवाहरुलाई स्वदेश फर्काउने माध्यमका रुपमा भ्रमण वर्षलाई लिएको भन्दै पर्यटन उद्योगको विकास गरी रोजगारी सृजना गरिने बताए ।
कार्यक्रममा नेपाल जेसीजले विभिन्न १० विधामा १० जना युवाहरुलाई सम्मान गरेको छ । कार्यक्रममा नेपाल जेसीजका संस्थापक अध्यक्ष डा भेषबहादुर थापा, निर्वतमान अध्यक्ष श्रीधर बस्याल, नारायणगढ जेसीजका अध्यक्ष विकास श्रेष्ठ, रत्ननगर जेसीजका अध्यक्ष सुवास पोखरेल, महाधिवेशन निर्देशक पुष्प जोशीलगायतले मन्तव्य राखेका थिए । महाधिवेशनमा देशभरका १५० शाखाका तीन हजार प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
रत्ननगर जेसीजको व्यवस्थापनमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षको लागि तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि चितवनका अरुणेश्वर खनाल, अशोक शंखर र विकास मानन्धरले उम्मेदवारी दिएका छन् ।
महाधिवेशनले एक अध्यक्ष, ४ जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित गर्ने छ । एक अध्यक्षका लागि तीन जना, ४ कार्यकारिणी उपाध्यक्षको लागि ११ जना र १२ जना उपाध्यक्षको लागि २१ जनाको उम्मेदवारी परेको नेपाल जेसीजका प्रेस संयोजक देवु बानियाँले जानकारी दिए ।
निर्वाचनलगत्तै अध्यक्षले महाधिवेशन स्थलबाटै महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार नियुक्त गर्ने छन् । यसरी महाधिवेशनले २० जनाको केन्द्रीय समिति निर्माण गर्नेछ । उम्मेदवारहरुले दुई महिनाअघि नै उम्मेदवारी दर्ता गराइसकेका छन् । निर्वाचन पुस ११ गते २ बजेबाट सुरु हुनेछ ।
निर्वाचनमा १ हजार ८७५ जनाले मतदान गर्ने रत्ननगर जेसीजका अध्यक्ष सुवास पोखरेलले बताए । महाधिवेशनअन्तर्गत १० गते नेतृत्वका लागि परिर्वतन विषय संवाद कार्यक्रम हुनेछ ।
संवाद कार्यक्रममा नेकपाका युवा नेता महेश बस्नेत, नेपाली काँग्रेसका युवा नेता गगन थापा, नयाँ शक्ति पार्टीका संयोजक रवीन्द्र मिश्र र अर्थविद् डा स्वणिम वाग्लेले सम्बोधन गर्ने कार्यक्रम रहेको महाधिवेशन निर्देशक पुष्प जोशीले जानकारी दिए ।