नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–७ का एक बालकको आज बिहान नदी तर्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार विदुर–७ का १४ वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो ।
शङ्कर र उहाँका दुई साथी प्रातः भ्रमणमा निस्किनुभएको थियो । काफ्लेका अनुसार घटना विदुर –१० स्थित तिरतिरे भीर नजिकै भैंसेमा नेपाल विद्युत प्राधिकरणको बाँधमा भएको हो ।
नहरमा फड्किएर जान लाग्दा तामाङ खोलामा परेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।
तामाङ उत्तरगया माविमा कक्षा ८ मा अध्ययनरत थिए । तामाङको शव नेपाली सेनाको नुवाकोटस्थित जबरजङ्ग गणबाट खटिएको उद्धार टोलीले करिब सात घन्टापछि फेला पारेको प्रहरीको भनाइ छ ।
मृतकको परिवारले प्राधिकरणले नहर तारबार नगरी लापरबाहीले छाडेकाले घटना भएको भन्दै क्षतिपूर्तिको माग गरेको छ ।

तपाईको प्रतिक्रिया