-हृदयेन्द्र अनुरागी
चितवन- दक्षिण चितवनको माडी नगरपालिकाले सरकारले घोषणा गरेको पर्यटन वर्ष धूमधामसँग मनाउने तयारी गरेको छ । सन् २०२० जनवरी १ देखि माडी नगरपालिकाले पर्यटकहरुलाई भव्य स्वागत तथा आतिथ्यता प्रदान गर्ने भएको हो ।
पुस १६ गते माडी पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई वसन्तपुरमा बाजागाजा र स्थानीय समुदायको संस्कृति झल्कने झाँकीसहित भव्य स्वागत गर्ने निर्णय भएको माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले बताए ।
उनले भने, ‘जनवरी १ मा माडी आउने पर्यटकलाई स्थानीय समुदायको संस्कृति झल्कने झाँकीले स्वागत गर्ने तयारी भइरहेको छ ।’
उनले अघिल्लो दिन पुस १५ गते आएका पर्यटकलाई पनि पुस १६ गते बिहान स्वागत गरी निःशुल्क खाना खुवाएर बिदाइ गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
माडी उपत्यकाभित्र सोमेश्वरगढी, बैकुण्ठेश्वरधाम, त्रिवेणीधाम, वाल्मीकि आश्रम, पर्शुराम कुण्ड, पाण्डवनगर, सीता गुफालगायत धार्मिक एवम् पर्यटकीयस्थलहरु रहेका छन् ।
आन्तरिक तथा बाह्य गरी दुवै किसिमका पर्यटकहरुलाई वसन्तपुरमा पञ्जेबाजासहित स्वागत गर्ने योजना रहेको मेयर ढकालले बताए । कृषि र पर्यटनको विकासबाटमात्रै माडीको समृद्धि सम्भव रहेको भन्दै उनले पर्यटन प्रवद्र्धनका लागि पर्यटन वर्ष–२०२० मा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने योजना बनेको उनको भनाइ थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले पर्यटन वर्ष सुरू भएको एक हप्ताभित्र सोमेश्वरगढीमा राष्ट्रिय झन्डा राख्ने योजना पनि रहेको जानकारी दिए । जनवरीको पहिलो हप्ताभित्रै मुख्यमन्त्री डोरमणि पौडेलको समुपस्थितिमा नेपाल र भारत दुवै देशबाट देख्न सकिने खालको राष्ट्रिय झन्डा सोमेश्वरगढीमा राख्ने योजना भएको उनले बताए । पर्यटन वर्षलाई लक्षित गरी बनकट्टा र बगईमा दुईवटा स्वागतद्वार निर्माण भइरहेको पनि उनले बताए ।
पर्यटन वर्ष मनाउनका लागिमात्रै माडी नगरपालिकाले एक करोड रूपैयाँ बजेट विनियोजन गरिसकेको छ । सो बजेट पर्याप्त नभएकाले प्रदेश सरकारसँग पनि थप ५० लाख रूपैयाँ माग गरिएको प्रमुख प्रशासकीय अधिकृत कँडेलले बताए । बजेट दिनका लागि प्रदेश सरकार सकारात्मक देखिएको भन्दै उनले एक करोड ५० लाख रूपैयाँमा नगरपालिकाले तयार पारेका सबै योजना सम्पन्न हुने बताए ।
नगरपालिकाले पर्यटन वर्षलाई नै लक्षित गरेर खिचरा महोत्सव, त्रिवेणी मेला, बैकुण्ठ मेला, चरा महोत्सव र अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गर्दैछ ।

यसैगरी, हेटौँडादेखि माडीको सोमेश्वरगढीसम्म साइकल दौड प्रतियोगिता आयोजना गर्ने र सौराहा आएका पर्यटकहरुलाई माडी प्रवेश गराउन सौराहा–सिमरा जोड्ने पैदलमार्ग बनाउने योजना रहेको उनले बताए ।
यसबाहेक चितवनका सातवटै स्थानीय तहका प्रमुख, उपप्रमुख र राजनीतिक दलका प्रतिनिधिहरुबीच फुटबल प्रतियोगितालगायतका कार्यक्रम गर्ने योजना नगरपालिकाले तय गरेको छ ।

तपाईको प्रतिक्रिया