चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा जारी चितवन हात्ती महोत्सवअन्तर्गत शुक्रबार भएको हात्ती पेन्टिङ प्रतियोगिताको उपाधि इच्छाकलीले जितेकी छन् । प्रतिस्पर्धी ४ वटा हात्तीलाई पछि पार्दै इच्छाकलीले उपाधि जितेकी हुन् ।
सौराहाका पर्यटन व्यवसायी ऋषि तिवारीको इच्छाकलीले निर्धारित १०० पूर्णाङ्कमा ८९ दशमलब ६६ अंक ल्याएर प्रथम भएकी थिइन भने पर्यटन व्यवसायी गोकर्ण गिरीको जयमतीकली द्धितीय र ज्ञानेन्द्रकुमार विष्टको बम्किनकली तृतीय भए । जयमतीकलीले ८३ दशमलब ६६ अंक ल्याएर द्धितीय बम्किनकलीले ८३ दशमलब १६ अंक प्राप्त गरी तृतीय भएका थिए ।
प्रतियोगितामा पिङ्कीकली र चम्पाकली गरी पाँच वटा हात्तीले सहभागिता जनाएका थिए । प्रतियोगिताअन्तर्गत हात्तीमा गरिएको पेन्टिङ, आनीबानी, अनुशासन र स्वास्थ्यलाई मूल्याङन गरेर प्रथम,द्धितीय र तृतीय छुट्याइन्छ । ९ दिन सम्म चल्ने सो महोत्सवअन्तर्गत हात्ती फाष्टवाक, हात्ती सुन्दरी, छावाहरुको फुटबल प्रतियोगिता हुने संयोजक राममणि खनालले जानकारी दिए ।
क्षेत्रीय होटल संघ चितवन सौराहाले चितवनको पर्यटन विकास गर्ने उद्देश्यले हरेक वर्ष महोत्सव गर्दै आएको संघका अध्यक्ष दीपक भट्टराईले बताए । भ्रमण वर्ष भएकाले यस वर्षको महोत्सवको अवधि बढाइएको संयोजक राममणि खनालले बताए ।

तपाईको प्रतिक्रिया