काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको दाबी गरेका छन् । प्रेस संगठनले आयोजना गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले असाधारण ढंगले सरकारले नयाँ काम अघि सारेकाले विकासका काम तीव्ररुपमा अघि बढेपछि विरोधी अत्तालिएको बताए ।
ओलीले एउटा तप्का विकास निर्माणका काम हुन नदिइै विवाद निम्त्याउन उद्दत रहेको आरोप लगाए । “छ वर्षभित्रमा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग हुने विषयले केही मान्छेको मन पोल्न थालेको छ”, उनले भने, “मैले खोलाबाट आवागमन गर्न सक्छौँ भनेँ उडाए, समुद्रमा जहाज चलाउन सक्छौँ भनेँ उडाए, कति दयनीय अवस्थामा छन् विरोधी भने पानीमा जहाज चल्छ भन्ने पनि थाहा पाएका छैनन्, नदीमा स्टिमर र जहाज चल्छ भन्ने त थाहा पाउनुपर्छ नि ।”
एकथरी कागजको डुङ्गा बनाएर चलाइरहँदा अर्कोथरीले जहाज चलाएर देखाएको भन्दै उनले निजी क्षेत्रका युवाले आफैँ प्रेरित भएर नारायणीमा जहाजको परीक्षण गरिसकेकामा खुसी व्यक्त गरे । ओलीले भने, “अब हामीकहाँ गङ्गाबाटै सामान आइपुग्छ, देख्न सक्नेले देख्छ, देख्न नसक्नेका लागि मजाक हुन्छ, आएपछि उनीहरु आश्चर्य चकित हुन्छन् ।”
मुलुकको प्रगति रफ्तारमा गइरहेको जिकिर गर्दै उनले छिट्टै फलाम खानीको काम अगाडि बढाउँदै तेलखानीको अध्ययन गर्न लागेको जानकारी दिए । मुलुक सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगिसकेको र कृषिको आधुनिकीकरणमा सरकारले ध्यान दिएको उनले बताए ।
उनले एकतापछि बनेको पार्टी एउटा डुङ्गा भएकाले डुब्न नदिने आश्वासन दिए । उनले पार्टी एक भएपछि सबै एउटा डुङ्गामा चढेकाले त्यसलाई कुनै हातलमा पनि डुब्न नदिएर एउटा गन्तव्यमा पु¥याउने ठोकुवा गरे ।
“डुङ्गामा प्वाल पार्दै जाने हो भने एउटामात्र डुब्दैनन् । सबै डुब्छन् । जसले प्वाल पार्न खोजे पनि यो डुङ्गा प्वाल पार्न दिइने छैन । जसले यो डुङ्गा डुबाउन खोजे पनि डुबाउन दिइने छैन”, उनले भने, “यो डुङ्गालाई उल्टाउन खोजे पनि उल्टाउन दिइँदैन । डुङ्गा बीचमा डुबाउन खोजे पनि दिइने छैन । यो डुङ्गा हामीसँग ७० वर्ष अनुभव बोकेर खियाइएर चलाइएको डुङ्गा हो ।”