चितवन- समाजसेवी मुरलीप्रसाद गजुरेलले आफूमार्फत् संकलित सहयोग रकम शनिबार धुर्मुस-सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेका छन् ।
खैरहनीका सामाजिक अभियन्ता गजुरेलले एक लाख १५ हजार ९५४ रुपैयाँ चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई हस्तान्तरण गरेका हुन् ।
देशविदेशमा रहेका ३३ जना नेपालीले विभिन्न अवसरमा गजुरेललाई रंगशाला निर्माणका लागि सो रकम संकलन गरी पठाएका थिए । खैरहनी माध्यमिक विद्यालयमा स्थापित अक्षयकोषमा एक करोड रुपैयाँ संकलन गरिसकेका गजुरेलले अब आफ्नो ध्यान रंगशाला निर्माणमा लगाउने बताए । रंगशाला निर्माणका लागि निरन्तर सहयोग संकलन गर्ने उल्लेख गर्दै खैरहनी ८ पर्साका गजुरेलले सबै नेपाली मिलेर गौरवको आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
सहयोग ग्रहण गर्दै धुर्मुस-सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले रंगशाला निर्माणका लागि चितवनवासी बिस्तारै तात्दै गइरहेको बताए । कट्टेलले यसो भनिरहँदा चितवनबाट भने खासै सहयोग जुट्न सकिरहेको छैन । रंगशाला निर्माणका लागि चितवनवासी नै तात्नुपर्ने कट्टेलको भनाइ छ । उनले भने – ‘चितवनको सन्देश देशभर फैलाएर तोकिएकै मितिमा निर्माण सम्पन्न गर्नका लागि सहयोग आवश्यक छ ।’
सहयोग रकम हस्तान्तरणका लागि गजुरेलसँगै खैरहनीका व्यवसायी उत्तम अधिकारी, अनिल कुँवर, अजय रावल, तुलसीराम कँडेल, रामप्रसाद सापकोटा, नारायण न्यौपाने, राजु सेढाईं रंगशाला स्थल पुगेका थिए । रामपुरमा करिब २० विगाह ८ कठ्ठा क्षेत्रफलमा तीन अर्ब रुपैयाँको लागतमा रंगशाला निर्माण गरिँदैछ ।