
बुटवल- नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ बुटवलमा दोस्रो सडक खाना महोत्सवको तयारी गरिएको छ ।
‘अतिथि देवो भव, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धनन र विकास हाम्रो अभियान, सडकमै खाऔँ सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले यही पुस १४ देखि १६ गतेसम्म बुटवलमा सडक खाना महोत्सवको आयोजना गर्न लागेको हो ।
शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष समुन्द्र जिसीले यस क्षेत्रको पर्यटन प्रवद्र्धननका लगि सडक खाना महोत्सव आयोजना गर्न लागेको बताए ।
सोही दिन सुजाता खिर र दहीको कडीलाई रुपन्देहीको विशेष परिकारको रूपमा घोषणा गरिने उनले बताए ।
अध्यक्ष जिसीले तीन दिनसम्म साँझ ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करीब रु पाँच करोडको आर्थिक कारोवार हुने र दुई लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा राखेको बताए ।
महोत्सव प्रचार–प्रसार समितिका संयोजक बाबुराम गौतमले बुटवल उपमहामनगरपालिका–९ कालिकापथको तीनकुनेबाट शिवालयचोकसम्मको सडकमा सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका खानाका परिकारको स्वाद चाख्न पाइने बताए । महोत्सवमा विभिन्न खानाका परिकारसहितका १०० स्टल रहने महासचिव माधवकुमार खनालले बताए ।
सडक खाना महोत्सवमा अस्थायी संरचना निर्माण गर्नुपर्ने र सडकमा कार्यक्रम गर्नुपर्ने भएकाले रु ३० लाख बढी खर्च हुने अनुमान आयोजकले गरेका छन् । खाना महोत्सव क्षेत्रमा सिसीटिभी क्यामेरा जडान, फ्रि वाइफाई, प्राथमिक उपचारकक्षको समेत व्यवस्था मिलाइएको छ ।