चितवन- दक्षिण चितवनको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले माडीका जनताप्रति चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय निकुञ्ज विभाग तथा वन मन्त्रालय उदार बन्न नसकेको भन्दै निकुञ्ज ऐनविरूद्ध फेरि अनशन सुरु गर्ने घोेषणा गरेका छन् ।
उनले माडीमा कुनै दैवीप्रकोप परे बाहिर जान सक्ने अवस्था नरहँदा जेलभित्र रहेको अनुभूति गर्न परेको बताए । उनले सिंगो माडीको विकासका लागि आफू मर्नसमेत तयार रहेको बताउँदै अनशनको विषयमा कसैसँग सम्झौता नगर्ने बताए ।
उनले गतवर्ष पनि प्रधानमन्त्रीसँग भेट गरी माडीको समस्याका बारेमा जानकारी गराइसकेका छन् । अब माडीका जनताका लागि मर्न आफूलाई कसैले पनि रोक्न र छेक्न नसक्ने उनको भनाइ छ ।
अहिले माडी–ठोरी सडकअन्तर्गत जंगलभित्रको बाटोलाई विस्तार गर्न लागिएकोमा बाटोको ईआईए सम्पन्न भए पनि निकुञ्ज ऐनका कारण बाधक बन्न पुगेको बताए । सो सडक भई आवतजावत गर्ने जनता जंगली जनावरको आक्रमणमा पर्दै आएका छन् ।
सरकारले बाटोको ईआईए पास गरे पनि मौजुदा कानुनले बाटो चाक्लो बनाउन युनेस्कोसँग सहमति लिनुपर्ने भनेको छ, युनेस्कोसँग सहमतिको प्रयास गर्नुअघि निकुञ्जले ईआईए नै त्रुटिपूर्ण छ भनेर गुनासो गरिराखेका छन् । मन्त्रिपरिषद् र प्राविधिकले ठीक भनेको कुरा निकुञ्ज विभागले त्रुटिपूर्ण छ भनेर अदालतमा पेश गरेको उनले बताए ।
उनले निकुञ्जका कर्मचारीहरुबाट माडीवासीप्रति अमानवीय व्यवहार हुँदै आएको बताउँदै माडीवासीको समस्या समाधानका लागि आफूले अनशन रोज्न पुगेको स्पष्ट पारे । उनले दुई÷तीन दिनभित्रै अनशन सुरु गर्दैछन् ।