चितवन । पूर्वी चितवनको टिकौली चौरमा यही पुस २५ गतेबाट हुन लागेको रत्ननगर महोत्सवको तयारी तीव्र रुपमा अगाडि बढेको छ ।
रत्ननगर उद्योग वाणिज्य संघको अगुवाईमा चितवनको समग्र कृषि, पर्यटन र उद्योगको प्रवद्र्धनका लागि आयोजना गरिँदै आएको रत्ननगर महोत्सवको यो १०औँ संस्करण हो । महोत्सवलाई व्यवस्थित बनाउन टिकौली चौरमा स्टल, विभिन्न जातजातिका घर निर्माण, प्रचारप्रसार र आन्तरिक व्यवस्थापनको काम तीव्ररुपमा भइरहेको संघका अध्यक्ष तथा मूल समारोह समितिका संयोजक राजाराम रेग्मीले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
यसवर्ष महोत्सवमा भ्रमण वर्ष–२०२० को प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ । भ्रमण वर्षलाई केन्द्रित गरी चितवनको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि हेलिकप्टरमार्फत स्थानीय पर्यटकीयस्थलहरुको भ्रमण गराउने व्यवस्था मिलाइएको छ । हेलिकप्टरमार्फत जिल्लाको अग्लो स्थान सिराइचुली, उपरदाङगढी, परेवाकोट, मौलाकालिका मन्दिरलगायत स्थानको अवलोकन गराइने उनले बताए ।
महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्रीको बजारीकरणका लागि महोत्सवमा प्रदर्शन गरिने छ । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला–संस्कृतिको प्रदर्शन, स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउने पाँच सयवटा स्टल रहने संघका पूर्वअध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए ।
यसपटक महोत्सवमा पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब ५० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । यसपटक महोत्सवमा भारत, पाकिस्तान, बंगलादेश र चीनका प्रदर्शकहरुले अन्तर्राष्ट्रिय बजारमा रहेका प्रविधिहरु प्रदर्शन हुनेछन् । महोत्सवअन्तर्गत रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बिसहजारी ताल, टिकौलीमा रहेको जैविक विविधता सूचना केन्द्रको प्रचारप्रसार गराइने संघका मेला प्रवद्र्धन समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।
महोत्सव प्रवेशका लागि ५० रूपैयाँको टिकट व्यवस्था गरिएको छ भने विद्यार्थीलाई २५ रूपैयाँको टिकट राखिएको छ । ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकले आफ्नो परिचयपत्रको आधारमा निःशुल्क महोत्सव अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ ।
महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत मनोज गजुरेल, टंक बुढाथोकी, अशोक दर्जी, कुलेन्द्र विश्वकर्मा, प्रकाश सपूत, सुनिल गिरी, विन्दु परियार, मेलिना राई, प्रमोद खरेल, त्रिसना गुरूङ, एआर बुढाथोकीलगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने कला तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक दीपककुमार कर्माचार्यले जानकारी दिए ।
यसैबीच, रत्ननगर महोत्सवअन्तर्गत टाँडीबजारमा फुड फेष्टिवल आयोजना हुँदैछ । पोल्ट्रीजन्य उत्पादनको बजारीकरणका लागि पुस २९ गतेदेखि माघ ४ गतेसम्म फेष्टिवल हुन लागेको हो ।
फेष्टिवलमा मासुका विभिन्न परिकारसँगै स्थानीय खानाका स्टलहरु रहने संयोजक ज्ञानबहादुर विसुरालले नेपालीको आवाजलाई जानकारी दिए ।