महेश पाण्डे
चितवन । सौराहामा जारी हात्ती महोत्सवमा गायिका मञ्जु पौडेलले चितवनका मेयर, उपमेयरलाई स्टेजमा छमछमी नचाएकी छिन् । १६ औं चितवन हात्ती महोत्सवको पाँचौ दिन सोमबार आफना प्रस्तुतिसँगै लोक गायिका मञ्जुले चितवनका विभिन्न नगरपालिकाका मेयर तथा उप–मेयरलाई छमछमी नचाएकी हुन् । हात्ती महोत्सव हेर्न आएका रत्ननगर नगरपालिकाका मेयर नारायण वन, उपमेयर विमला दुवाडी, राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलियालगायतलाई मञ्जुले आफ्नो गीतमा नचाएकी थिइन् ।

कार्यक्रममा गायिका मञ्जु पौडेलसँगै चर्चित मोडल अञ्जली अधिकारी, हाँस्य कलाकार फुलन्देकी आमा र नृत्य निर्देशक शिव विकको प्रस्तुतिमा पनि दर्शक रमाएको प्रष्ट देख्न सकिन्थ्यो ।
चितवनको सौराहामा पुस १० देखि शुरु भएको महोत्सव १८ गते सम्म सञ्चालन हुने छ । हरेक दिन हुने कार्यक्रममा हात्तीका विभिन्न खेलसँगै दर्शकको उपस्थिति पनि बढिरहेको कार्यक्रमको आयोजक क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका संयोजक राममणि खनालले विगतका दिनमा महोत्सव जम्मा पाँचदिन हुने गरेकोमा यसपटक प्रदेश सरकारको पनि सहभागिता रहेका कारण नौ दिनसम्म सञ्चालन गरिएको जानकारी दिए । उनले महोत्सवको अवधि बढेसँगै सौराहामा पर्यटक पनि वृद्धि भइरहेको बढेको जिकिर गरे ।

त्यस्तै १६औं चितवन हात्ती महोत्सवको अर्को आकर्षणको रुपमा रहेको बिच भलिबल प्रतियोगिताको पनि आज नै फाइनल खेल हुने भएको छ । जम्मा ६ टिम सहभागी रहेको खेलमा आज सेमीफाइनल खेल र फाइनल खेल हुने सो खेल व्यवस्थापन समिति संयोजक माधव दुवाडीले जानकारी दिए । ६ टिमबाट खेल जित्दै चार टिम सेमिफाइनलमा पुुगेकोमा आज एपिएफको बी वान, पुलिसको बी थ्री, आर्मीको ए वान र पुलिसका ए थ्री टिमबीचमा खेल हुनेछ । आजको खेलमा पुलिसको बी थ्री र पुलिसको ए थ्री साथै एपिएफको बी वान र आर्मीको ए वानको बीचमा खेल भएपश्चात् बिजेता टिमबीच पनि आजै फाइनल खेल भई नतिजा पनि आउने संयोजक दुवाडीले बताए ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष तथा कार्यक्रमका सह–संयोजक ऋषि तिवारीले आज हात्ती पोलोको खेल रहेको जानकारी दिँदै जसमा रत्ननगर नगरपालिका र राप्ती नगरपालिकाको टिमबीच खेल हुने बताए । उनले आज नै थारुहरुको संस्कृतिलाई झल्कने गरी थारु समुदायले प्रयोग गर्दै आएको बयल गाडा सजावट प्रतियोगिता पनि रहेको जानकारी दिए ।

आजको कार्यक्रममा पनि चर्चित कलाकारहरुको उपस्थिति रहने सांस्कृतिक कार्यक्रम संयोजक प्रकाशचन्द्र भट्टराईले बताए । उनले आज चर्चित गायक रमेशराज भट्टराई, गायिका सावित्री जोशी, गायक प्रकाश कटुवाललगायत राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने जाकारी दिए ।

कार्यक्रमका सह–संयोजक लोकगायक मिलन लामाले हरेक दिनको सांस्कृतिक कार्यक्रममा दर्शक रमाइरहेको पाएको बताउँदै आजको कार्यक्रममा पनि दर्शकको बाक्लो उपस्थिति रहने विश्वास दिलाए । उनले कला संस्कृतिको जगेर्ना गर्न पनि यसपालीको हात्ती महोत्सव सफल रहेको धारणा व्यक्त गरे ।





तपाईको प्रतिक्रिया