
आशिष रेग्मी
कावासोती- केदारनाथका पीठाधीश शिवाचार्य महाराजज्यू नवलपुरको चोरमारामा आउने भएका छन् ।
मध्यविन्दु नगरपालिका वडा नं ७ चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको धनधान्याचलमा केदारनाथका पीठाधीश शिवाचार्य महाराजज्यू आउन लागेका हुन् ।
विश्वका सनातन धर्मावलम्बीले पाँच जना शिवाचार्यलाई पुज्ने गर्दछन् । चोरमारा आउन लागेका शिवाचार्य यिनै पाँचमध्येका एक हुन् ।
उनी मकर संक्रान्तिका दिन देवघाटमा स्नान गरी नवजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको श्रीमदभागवत् पितृ मोक्ष एवं धनधान्याचल विराट ज्ञानमहायज्ञमा आउने कार्यक्रम रहेको आयोजकले बताएको छ ।
भारतको केदारनाथबाट चार्टर गरेर उनी देवघाटमा स्नान गर्न जानेछन् त्यसपछि सीधै यज्ञमा आउने कार्यक्रम रहेको महायज्ञ मूल आयोजक समितिका संयोजक चेतनाथ तिवारीले जानकारी दिए ।
उनका अनुसार शिवाचार्य माघ १ गतेदेखि माघ ५ गतेसम्म महायज्ञमा बस्ने कार्यक्रम रहेको छ । शिवाचार्य महाराजज्यूलाई राख्नका लागि विशेष व्यवस्था मिलाइएको छ भने देशविदेशका धर्मानुरागी महानुभाव उनको दर्शनका लागि आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षाको पनि उचित प्रबन्ध मिलाइएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम तिवारीले जानकारी दिए ।
भारतका वैदिक सनातन धर्मावलम्बीले शिवाचार्य महाराजज्यूलाई भगवान्कै रुपमा पूज्ने गर्दछन् । उनी क्याम्पसद्वारा आयोजित धनधान्याचलमा आउने भएपछि आयोजकले तयारी व्यापक गराएको छ ।
केही कार्यक्रमले गर्दा यो धनधान्याचल अरुभन्दा फरक र विशेष हुने नवजागरण बहुमुखी क्याम्पसका प्रधान संरक्षक विष्णुकुमार कार्किले बताए ।
शिवाचार्य महाराजद्वारा समस्त पितृको भक्ति र मुक्तिका लागि विशेष पूजा गरिने उनको भनाइ छ ।
केदारनाथका पीठाधीश नै हाम्रो ठाउँमा आइसकेपछि हामीले पितृ मोक्षका लागि बद्री केदार गैरहन नपरोस् भनेर उनीद्वारा नै पितृ मोक्षका लागि विशेष पूजाको व्इवस्था गरिएको उनले बताए ।
उनले यस अवसरको सदुपयोग गर्नका लागि सम्पूर्ण भक्तजनलाई अपिलसमेत गरेका छन् । त्यस्तै, शिवाचार्य महाराजद्वारा वैदिक सनातन धर्मको विषयमा प्रवचनसमेत हुनेछ भने उनको आशिर्वचन लिन चाहनेहरुको लागि पनि छुट्टै समय मिलाइने कार्कीले बताए ।
महायज्ञको फूलपाती केदारनाथमा लगेर सेलाइने भएका कारणले पनि यो महायज्ञलाई विशेष रुपमा हेरिएको छ । महायज्ञमा छिमेकी जिल्लाका मात्र नभएर छिमेकी मुलुकबाटसमेत भक्तजन आउने विश्वास आयोजकले राखेको छ ।
भागवत अलङ्कार पदवीले विभूषित पण्डित नेत्रप्रसाद पराजुलीको प्रमुख वाचकत्वमा नवजागरण बहुमुखी क्याम्पसको प्राङ्गणमा यहि पुस २७ गतेदेखि माघ ६ गतेसम्म श्रीमदभागवत पितृमोक्ष धनधान्याचल एवं विराट ज्ञानमहायज्ञ संचालन हुँदैछ । स्नातकोत्तर कक्षा संचालन, स्नातक तहमा प्राविधिक शिक्षा र सुविधासम्पन्न क्याम्पस संचालनार्थ आयोजना गरिएको महायज्ञमा १५ करोड रुपैयाँ उठ्ने अपेक्षा आयोजकको रहेको आर्थिक समितिका संयोजक प्रकाश पंगेनीले बताए ।
स्थानीय दानवीर पहिचान समितिको संयोजकमा केदारप्रसाद पराजुली छन् भने बाह्य दानवीर पहिचान समितिको संयोजकमा क्याम्पसका प्रधान संरक्षक समाजसेवी विष्णुकुमार कार्की रहेका छन् ।
दुवैसमितिमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न संघसस्थाका व्इक्तिहरु सदस्य छन् । अहिले मध्यविन्दु नगरपालिकाको प्रत्येक वडामा वडास्तरीय प्रचारप्रसार समिति गठनको क्रम जारी रहेको छ । यस्तो समिति छिमेकी पालिकाहरुमा पनि गठन गरिने प्रचारप्रसार समिति संयोजक जीवन पाठकले बताए ।
महायज्ञमा श्रीमदभागवत, रुद्राभिषेक, वेद, चण्डी, गीता पाठपारायण, गायत्री मन्त्र जप र हवन, ग्रह शान्ति, अनुष्ठान, धान्यान्चल, तण्डुलाचल,
पन्चदेवोपासना, कोटीदीप प्रज्वलन, तुलादान, भूमिदानको व्यवस्था हुने आयोजकले जनाएको छ ।