काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद् कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारबाही अगाडि बढाएको आरोप लगाएकी छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गरिन् ।
“फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ”, सांसद ओलीले भनिन्, “गैरकानुनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ, सामान्य भनाभनको विषयमात्र थियो, बिनाअनुसन्धान प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ ।”
नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले छिमेकी देश चीनमा कोरोना भाइरस फैलिरहेको हुँदा विशेष सावधान अपनाउन सरकारको ध्यानाकर्षण गराए ।
तीनवटा विधेयक पेश
राष्ट्रियसभाको बैठकमा तीनवटा विधेयक पेश भएका छन्  । मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन विधेयक,
२०७६ तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ पेश गरे ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गरे ।
बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य गम्भीरजङ कार्कीको निधनमा प्रस्तुत शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बैठकमा सो शोकप्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ १९ गते ११ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया