
भक्तपुर- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी अपराधीको हकमा जोसुकै भए पनि कडारूपमा प्रस्तुत भएर कारबाही प्रक्रियामा अगाडि बढ्ने बताएका छन् ।
जोसुकै व्यक्तिले अपराध गरे पनि कुनै बहानामा छुट नदिई कानूुको कठघरामा उभ्याउने, भ्रष्टाचारको विरोध र सुशासन कायम गर्न नेपाल प्रहरी खटिएको बताए ।
सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा निर्माण सम्पन्न भएको महानगरीय ट्राफिक प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै उनले महिला र बालबालिकाको हकमा धेरै संवेदनशील हुनुपर्नेमा जोड दिए ।
उनले अपराधमुक्त समाज निर्माणको मिसनमा लागेको प्रहरीलाई नागरिकले सघाउनुपर्नेमा जोड दिँदै नागरिकले प्रहरीलाई र प्रहरीले नागरिकलाई सहयोग गर्न सकेमात्र अपराधमुक्त समाजको परिकल्पना साकार हुने बताए ।
कार्यक्रममा महानगरीय आयुक्त कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल, ट्राफिक महाशाखा प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल र भवन निर्माण समितिका अध्यक्ष नवीन प्रजापतिले देशलाई अपराधमुक्त बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।
सूर्यविनायकको कटुञ्जेस्थित कित्ता नं २३३३ रहेको कूल १३ आना जग्गामा २०७४ साल कात्तिक ३० गते शिलन्यास भएको भवन करीब रु एक करोड ५० लाखको लागतमा निर्माण सम्पन्न भएको ट्राफिक प्रहरी हबल्दार ईश्वरप्रसाद बञ्जाराले जानकारी दिए ।
साढे दुईतलाको यो भवनमा नौवटा कोठा, मेस, महिला ब्यारेक, इन्चार्ज कक्ष, कार्यालय प्रमुखको आवास, जुनियर प्रहरी अधिकृत ब्यारेक, प्रहरी हबल्दार र प्रहरी जवानको ब्यारेक, सभा हल, प्रतीक्षालय, छ वटा शौचालयसहितको भवन निर्माण सम्पन्न भएको छ ।
भवन निर्माणका लागि भक्तपुर नगरपालिकाबाहेक जिल्लाका अन्य तीनवटा नगरपालिका, यहाँका व्यवसायीबाट रु ३९ लाख २७ हजार २५६ नगद सङ्कलन भएको र व्यवसायी एवं दाताहरूबाट निर्माण सामग्रीहरू सङ्कलन गरी सरकारको लगानीबिना नै भवन निर्माण सम्पन्न भएको समितिले जानकारी दिएको छ ।