
चितवन- भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलको रजत महोत्सवको अवसरमा जारी जिल्लास्तरीय अन्तरविद्यालय फुटसल प्रतियोगिताको सेमिफाइनल पुग्ने चारै टोलीको टुंगोे लागेको छ ।
जारी प्रतियोगितामा आयोजक ग्रीनल्याण्ड पब्लिक स्कुलसँगै सनराइज बोर्डिङ स्कुल, डेजी स्कुल र वाल्मिकी शिक्षा सदन सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा स्थान बनाउनका लागि ग्रीनल्याण्डले अर्किड स्कुललाई ४-० ले पराजित गरेको छ ।
आजै सम्पन्न अर्को खेलमा सनराइजले होली भिजनलाई ३-१ तथा डेजीले डन एकेडेमीलाई ६-० को फराकिलो अन्तरले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाएका छन् । यस्तै नारायणी पब्लिकविरुद्ध १०-० को फराकिलो जित निकाल्दै वाल्मीकिले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।
प्रतियोगिताअन्तर्गत फाइनल प्रवेशका लागि बुधवार ग्रीनल्याण्ड र सनराइज तथा डेजी र वाल्मीकि भिड्ने संयोजक कृष्ण कार्कीले जानकारी दिए । प्रतियोगिताको बिजेताले शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले पनि पुरस्कार प्राप्त गर्ने विद्यालयले जनाएको छ ।