
काठमाडौँ- बुधबारदेखि राजधानीमा सुरु भएको नेकपा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा अमेरिकी सहयोग परियोजना (एमसिसी)लाई चीनलाई घेराबन्दी गर्ने इण्डोप्यासिक रणनीति भएको ठहर गर्दै घुमाउरो भाषामा संसदबाट पास नगर्ने आशय व्यक्त गरेको छ ।
नेकपा केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएका अध्यक्षद्वयद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा इण्डोप्यासिफिक रणनीतिअन्तर्गत चीनलाई घेराउ गर्न अमेरिकाले नेपालमा एमसिसी परियोजना लागू गर्न लागेको निष्कर्ष निकालेको हो ।
नेकपाको यस्तो निष्कर्षसँगै एमसिसी संसदबाट पारित हुनेमा आशंका व्यक्त गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमसिसीलाई पास गर्न हतार नगरौँ, बहस हुन दिऊँ भन्ने अभिव्यक्ति दिएको भोलिपल्टै नेकपाले एमसिसीलाई खतरनाक अमेरिकी ग्राण्ड डिजाइन भएको ठहर गरिएको प्रतिवेदन सार्वजनिक भएको हो ।
गत स्थायी कमिटीको बैठकमा भन्दा बुधबारको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेकपाले आर्इपिएसबारे कडा रुपमा लिँदै चीन घेर्ने रणनीति ठहर गरेपछि एमसिसी लगभग पास नहुने निश्चित भएको छ ।
नेकपाले बैठकमा वितरण गरेको राजनीतिक प्रतिवेदनमा एमसिसी हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्नो प्रभुत्व विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इण्डो प्यासिफिक रणनीति अगाडि बढाइरहेको उल्लेख गरेको छ ।
नेकपाको बैठकमा प्रस्तुत प्रतिवेदनमा सैन्य सहयोग देखिने कुनै पनि विदेशी सहयोग नलिने घोषणा गरिएको छ । यसबाट एमसिसीको पक्षमा नेकपाले संसदमा मतदान नगर्ने सम्भावना बढेको छ ।
प्रधानमन्त्री केपी ओलीसहितको बैठकले अनुमोदन गरी केन्द्रीय समितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा एमसिसी सैन्य सहयोगसहितको रणनीति ठहर एकातिर गरिएको छ भने अर्कोतिर नेपालले जुनसुकै प्रकारको सैन्य सहयोगसहितको रणनीतिक योजना अस्वीकार गर्ने उल्लेख गरेबाट एमसिसी पास नगर्ने लगभग निश्चित देखिएको छ ।
नेकपाको प्रतिवदेनमा चीनसँग भने नजिक हुने आशय व्यक्त गरिएको छ । प्रतिवेदनमा चीनको बीआरआई परियोजनाको बारेमा केही उल्लेख नगरी मौन समर्थन गरिएको हो ।
नेकपाले आफ्नो राजनीतिक प्रतिवेदनमा भारतले आफ्नो नक्सामा पारेको लिम्पियाधुरा नेपालकै भएको दाबी गर्दै भारतले मिचेको नेपाल भूभागको सम्बन्धमा समेत प्रवेदनमा स्पष्ट सम्बोधन गरिएको छ ।