
चितवन- पूर्वी चितवनको टिकौली चौरमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी उद्घाटन गरेका हुन् । सो अवसरमा सभापति डल्लाकोटीले खेलकुद पर्यटन प्रवद्र्धनका लागि सहयोगी बन्ने विश्वास व्यक्त गरे ।
रत्ननगर नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरप्रमुख नारायण वनले खेलकुदका माध्यमबाट खेलाडीको शारीरिक विकाससँगै आर्थिक प्रगति हुने बताए । सार्क गेमको उदाहरण दिँदै उनले पछिल्लो समय खेलकुद आर्थिक उपार्जनको माध्यमसमेत बनेको बताए ।
रत्ननगरका १६ वडाका ३२ विद्यालयका ५०० बढी विद्यार्थीको सहभागिता रहने नगर खेलकुद विकास समितिका संयोजक एवम् रत्ननगर १० का वडाध्यक्ष केशव आचार्यले बताए ।
कार्यक्रममा उपप्रमुख विमला दुवाडी, नगरपालिकाका प्रशासकीय अधिकृत टुवराज पोखरेल, शिक्षा शाखा प्रमुख बद्रीनारायण शर्मा, खेलकुद विकास समितिका उपप्रमुख एवम् रतननगर १ का वडाध्यक्ष शंकरसिं तामाङलगायतको सहभागिता रहेको थियो ।
रनिङ शिल्डमा तेक्वान्दो, भलिबल, दौड, कबड्डी, सटपुट, हाइजम्प, लङ्गजम्पलगायतका खेल सञ्चालन हुनेछन् ।