चितवन- चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोग जुटाउन हुने धनधान्याचल महायज्ञमा चितवनका सम्पूर्ण निजी तथा कलेजहरु जुट्ने भएका छन् ।
राष्ट्रकै गौरभको परियोजनाको रुपमा हेरिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १९ गतेदेखि हुने महायज्ञ सफल बनाउनका लागि चितवनका कलेजहरु जुट्ने भएका हुन् ।
बिहीबार भरतपुर महानगरमा मूल आयोजक समिति र कलेजहरुको संयुक्त भेलाले बालकुमारी कलेजका प्रमुख जगदीश्वर खनालको संयोजकत्वमा कलेज परिचालन समिति गठन भएको छ । उक्त समितिले महायज्ञ अवधिभर चितवनका सम्पूर्ण सामुदायिक तथा निजी कलेजहरुलाई परिचालन गर्नेछ ।
समितिले भौतिक उपस्थितिसँगै आर्थिक संकलनमा पनि सहयोग गर्ने संयोजक खनालले जानकारी दिए । महायज्ञसँगै रंगशाला निर्माण अभियान सम्पन्न गर्नका लागि चितवनका कलेजहरुको तर्फबाट सक्दो सहयोग गर्ने उनले बताए ।

मूल समारोह समिति संयोजक विजय सुवेदीले रंगशाला निर्माणार्थ हुन लागेको महायज्ञ सफल बनाउन कलेजहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले कलेजका विद्यार्थीहरुले देश विकासमा ठूलो भूमिका निर्वाह गर्दै आएको बताउँदै रंगशाला निर्माणमा पनि विद्यार्थीहरुको योगदान निकै महत्वपूर्ण हुने बताए ।

धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले रगंशाला निर्माणार्थ १९ गतेबाट सुुरु हुने महायज्ञमा लक्ष्यभन्दा धेरै आर्थिक संकलन हुने विश्वास व्यक्त गरे । महायज्ञको तयारी तीव्र पारिएको मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए । महायज्ञ स्थलमा अहिले टेन्ट र भोजन गृह निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया