चितवन- पूर्वी चितवनको रत्ननगरमा क्रियाशील तीन साना दलको आयोजनामा राष्ट्रिय स्वाधीनता बचाउन दबाब सिर्जना गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेकपा माले, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले सीमा अतिक्रमण, विवादित एमसिसी सम्झौताको बारेमा जानकारी र भ्रष्टाचार नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया गरेका हुन् ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता मोदनाथ मरहठ्ठाले कार्यपत्र प्रस्तुत गर्दै सीमा अतिक्रमणको विषयमा सरकारले ध्यान नदिएको बताउँदै नागरिकस्तरबाट दबाब सिर्जना गर्नुपर्ने बताए । उनले अमेरिकाको वैदेशिक सहायता एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता इन्डोप्यासेफिक रणनीतिकै एउटा अंग भएकाले एमसिसी खास गरी विश्वबजारमा शक्तिशाली उपस्थिति कायम राख्दै आएको चीनलाई घेराबन्दीमा पार्ने रणनीति भएकोले नेपाललाई रणभूमि बनाउन लागेको हो कि भन्ने शंका गर्ने ठाउँ रहेको उल्लेख गरे ।

यीबाहेक कतिपय असमान सन्धि सम्झौताहरु नदी, बिजुलीजस्ता परियोजना विकासका नाममा आउने अनुदानहरु राष्ट्रहितविरुद्ध रहेको र यसले मुलुक बर्बाद हुने भएकाले नागरिक चनाखो हुनुपर्ने अवस्था आएको उनले बताए ।

राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा मालेका जिल्ला सचिव परशुराम लामिछाने, राष्ट्रिय जनमोचाका जिल्ला अध्यक्ष डम्मर पुरी, क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी अशोक शर्मा मुख्य वक्ताका रुपमा रहेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीलगायतले मन्तव्य राखेका थिए भने नेकपा मालेका नगर सचिव रामहरि लम्सालले कार्यक्रम सञ्चालन गरेका थिए ।

लम्सालले सरकारलाई दबाब दिन आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए ।

तपाईको प्रतिक्रिया