
काठमाडौँ- राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीमाथि भ्रष्टाचार अभियोग लागेको हुँदा यसको निष्पक्ष छानबिन हुुनुपर्ने माग गरिइएको छ ।
शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले उपाध्यक्ष डा गिरीमाथि लागेको भ्रष्टाचार अभियोगको निष्पक्ष छानबिन गरी दोषी देखिए कारबाही गर्नुपर्ने माग गरे ।
उनले भने, “यही माघ २२ गतेसम्ममा आयोगका उपाध्यक्ष डा गिरीमाथि लागेको भ्रष्टाचार अभियोगको छानबिन गरी कारबाही नभए म आमरण अनशन बस्ने घोषणा गर्दछु ।”
आयोगका उपाध्यक्ष डा गिरीलाई उन्मुक्ति दिलाउनका लागि विभिन्न प्रपञ्च रचिएको र बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई कानूनी डण्डा देखाएर तर्साउन खोजिएको भन्दै थापाले आपत्ति जनाए ।
उनले भने, “घुस मागेको आरोप लागेका आयोगका उपाध्यक्ष गिरिमाथि कुनै छानबिन नहुने तर जोसँग घुस मागिएको छ अर्थात् (मेडिकल सञ्चालक) जो स्वम् पीडित भएँ भनेर न्याय माग्दै छन् ।
उसैलाई कानूनी डण्डा देखाएर तर्साउनेजस्ता क्रियाकलाप गरिएको छ, यो गलत हो ।” थापाले मेडिकल कलेजलाई सम्बन्धन दिन २० (बीस करोड) घुस मागेको आरोप लाग्दै आएको जानकारी दिए ।