-ध्रुवराज लामिछाने
चितवन- पर्यटकीय नगरी सौराहामा आउने विदेशी पर्यटकहरुलाई अङ्ग्रेजी नयाँ वर्षका साथै भ्रमण वर्ष २०२० को अवसरमा भव्य स्वागत गरिएको छ ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वन तथा उपमेयर विमला दुवाडीसहित वडाध्यक्ष, जनप्रतिनिधि एवम् रत्ननगर नगरपािलकाका कर्मचारीहरुले पर्यटकहरुलाई फूलमालासहित स्वागत गरेका हुन् ।
सोही अवसरमा सौराहाका पर्यटन व्यवसायी, होटल एशोसियसन, रेष्टुरेन्ट एण्ड बार एशोसिएसन, स्थानीयवासीलगायतले पर्यटकहरुलाई न्यानो आतिथ्यतासहित स्वागत गरेका थिए ।
सौराहामा यतिबेला सन् २०२० को स्वागत, नाचगान र एकअर्कालाई नयाँ वर्षको शुभकामनाको आदान–प्रदान गरी मनाइएको छ ।
‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ मूल नारासाथ रेवानले सडक महोत्सव पनि आयोजना गरेको छ । सौराहामा हात्ती महोत्सवको रौनकसँगै सांस्कृतिक कार्यक्रम पनि हुँदैछ ।