काठमाडौँ- स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीको परिचयपत्र नक्कली बनाइ बिक्री गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध नियन्त्रण महाशाखा र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले उनीहरुलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउपर्नेमा सर्लाहीका दीपक ब्लोन, वुद्धिबहादुर रोक्का, काठमाडौँ बौद्धका अशोक कार्की, बाराको सिमराका मोहन यादव र काठमाडौँको लाजिम्पाटका कुमार तण्डुकार रहेको मशाखाकाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

पुस १५ गते पुतलीसडकबाट दीपक ब्लोनसँग नक्कली स्मार्ट लाइसेन्स फेला पारी सोधपुछ गर्दा उक्त गिरोह संलग्न रहेको फेला परेको हो । प्रहरीका अनुसार सुवास भन्ने बुद्धिबहादुर रोक्काले न्यूरोडस्थित आफ्नो आशिष स्टुडियोमा डिजाइनिङ गरी काठमाडौँको न्यूरोडस्थित फोटो कन्सर्न प्रालिबाट नक्कली सवारी अनुमतिपत्र निकाल्ने गरेको खुल्न आएको छ । नक्कली लाइसेन्स बनाउन रोक्काले रु ३० हजार लिने गरेको खुल्न आएको छ ।
रोक्काबाट दीपक ब्लोनको नामको स्मार्ट लाइसेन्स, विभिन्न व्यक्तिको नक्कली सवारी चालक अनुमतिपत्र, नागरिकताका प्रमाणपत्र, भारत सरकारको आधार कार्ड बरामद भएको छ । फोटो कन्सर्न प्रालिले विभिन्न व्यक्तिको सरकारी लिखत डिजाइन गरी बिक्री गर्ने गरेकासमेत प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा लक्ष्मण झाँक्रीको नामको सवारी चालक अनुमतिपत्र, निजकै नामको सशस्त्र प्रहरी जवानको परिचयपत्र, विभिन्न कलेजको परिचयपत्र, प्रिन्टर, हाडड्राईभ सर्वरसमेत बरामद गरिएको छ ।

तपाईको प्रतिक्रिया