काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट अगाडि बढाइएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै सच्याउन माग गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत उक्त विधेयक संविधानको प्रतिकूल हुने र नागरिकका मौलिक अधिकार हनन हुने आरोप लगाउँदै विधेयक सच्याएर अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले नेपालको संविधानले नेपाली नागरिकको स्वतन्त्रता, नागरिक अधिकार, मौलिक अधिकारको सुनिश्चितता गरेको उल्लेख गर्दै नागरिक स्वतन्त्रता र अधिकारको रक्षा गर्ने दायित्व राज्यको भएको जनाएका छन् ।
कुनै पनि बहानामा आम नागरिकका स्वतन्त्रता र अधिकार कुण्ठित गर्ने र संविधानको प्रतिकूल ऐननियम बनाउने कदमप्रति कांग्रेस संसदीय दलले विरोध गर्ने जनाएको छ ।
प्रमुख सचेतक बालकृष्ण खाणले संविधानको प्रावधानको प्रतिकूल हुने र नागरिकका विचार एवं अभिव्यक्ति स्वतन्त्रता विरुद्धका कदमप्रति सबै पक्षलाई अग्रसर हुन पनि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया