चितवन । भ्रमण बर्षको अवसरमा सौराहादेखी राप्तीको भण्डारासम्मका सामुदायिक वनमा पनि जीप सफारी गरिने भएको छ । सोही उद्देश्यले बुधवार सौराहादेखी राप्तीको भण्डारासम्मका सामुदायिक वनमा संचालित जीप सफारीको उद्घाटन गरिएको छ । भ्रमण वर्ष २०२० को शुभारम्भ पारेर जीप सफारीको पनि उद्घाटन गरिएको हो । करिव एक वर्ष अघिदेखी सफारी संचालन भएपनि भ्रमण वर्षको पहिलो दिन बुधवार औपचारिक उद्घाटन गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, खैरहनीका नगर प्रमुख लालमणी चौधरीले लगाएतले जीप सफारी मार्फत आएका पर्यटकहरुलाई स्वागत गर्दै जीप सफारीको शुभारम्भ गरेका थिए । सौराहाबाट जीप मार्फत आएका पर्यटकलाई उनीहरुले फुलमाला, खादा, टिका लगाएर स्वागत गरे । अघिल्लो आर्थिक वर्षमा खैरहनी नगरपालिकाले ३० लाख र राप्ती नगरपालिकाले ६ लाख विनियोजन गरेको वजेटबाट कठार भण्डाराका पाँच वटा सामुदायिक वनमा १६ किलो मिटरको ट्रयाक निर्माण गरिएको कठार भण्डारा सामुदायिक वन समन्वय समितिका संयोजक कृष्ण चौधरीले वताए । यहाँका पाँच वटा वनलाई समग्रमा कुचकुचे वनको नामले चिनिन्छ । जीप सफारीको उद्घाटन गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले वन र वन्यजन्तुको संरक्षण गर्दै पर्यटनलाई आयआर्जनसंग जोड्नु पर्ने वताए ।
जिसस प्रमुख डल्लाकोटीले माडीको सोमेश्वरगढी देखी सिराईचुली सम्मको पर्यटन प्रवद्र्धनमा सवै जुट्नु पर्नेमा जोड दिए । खैरहनीका मेयर लालमणी चौधरीले नगरले कुचकुचे वन, कंकालीवन, कुमरोज वनमा पूर्वाधार निर्माणमा पर्याप्त विनियोजन गरेको वताए । पर्यटनको विकासका लागि पर्यटन शुल्क समेत संकलन गरिसकेको उल्लेख गर्दैै मेयर चौधरीले संकलित रकम पर्यटनमा खर्च गर्ने वताए । उद्घाटन कार्यक्रममा राप्तीका मेयर प्रभा वराल,उपमेयर इमानसिंह लामा,चितवन राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन कमलजंग कुँवर,राप्ती र खैरहनीका वडाध्यक्षहरु,पर्यटन व्यवसायी,स्थानीयको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया