
चितवन । पश्चिम चितवनको पटिहानीमा बिदेशी पर्यटकलाई स्वागत गर्दै गाडामानै सरर राखेर भव्य स्वागत गरिएको छ । चितवनको नयाँ पर्यटकीय गन्तव्य पटिहानीमा भव्य रुपमा भ्रमण वर्षको सुरुवात गरिएको हो । बुधवार एक कार्यक्रमकाबीच पटिहानी पुगेका बिदेशी पर्यटकहरुलाई स्वागत गर्दै भ्रमण वर्षको सुरुवात गरिएको हो ।
भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय र पटिहानी पर्यटन विकास समितिको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको हो । पर्यटकहरुलाई फूलमालाका साथ गाडामा राखेर पटिहानी परिक्रममा गराईएको थियो ।
कार्यक्रममा एक सय जना भन्दा बढी पर्यटकहरुलाई गाडामा राखेर वडा कार्यालय परिसर धनौजीदेखि पटिहानी बजार हुँदै पर्साचोकसम्म बाजागाजा, विभिन्न जातिको भेषभुषा र झाकीसहित स्वागत तथा सम्मान गरिएको वडा नं.२२ का वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए । बाजागाजा सहित स्वागत गरिएपछि बिदेशी पर्यटकहरु खुसीले गदगद देखिन्थे ।
भ्रमण वर्ष शुभारम्भ कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद रामलाल महतो रहेका थिए । कार्यक्रममा पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकरराज थपालिया, उपाध्यक्ष साजन कुमार महतो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), भरतपुर २२ का अध्यक्ष रामहरि सेढाई, नेपाली काँग्रेस वडा सभापति कुमारप्रसाद थपालिया लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमलाई भव्य बनाउन विभिन्न टोल विकास संस्थाहरुको सक्रिय सहभागिता रहेको थियो । पछिल्लो समय पटिहानी नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । यहाँ ठूला ठूला होटलहरु संचालनमा आइरहेका छन् । यहाँबाट दुर्लभ एक सिंगे गैंडा अवलोकन, जीप सफारी, थारु साँस्कृतिक नृत्यलगायत मुख्य आकर्षणको केन्द्र रहेको छ ।