चितवन- चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललाई १२ घन्टाभित्र जिल्ला छाड्न प्रदेश नं ३ को प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ । एसपी मल्लले सरुवा हुन निर्देशन भएको १३ दिनसम्म पनि जिल्ला छाड्न आनाकानी गरेपछि प्रदेश प्रहरी कार्यालयले सो निर्देशन दिनुपरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलद्वारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ ।
प्रदेश प्रहरी कार्यालयद्वारा जारी गरिएको निर्देशनमा ‘दानबहादुर मल्ल हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकाले तहाँ कार्यरत प्रहरी नायब उपरीक्षकलाई सम्पूर्ण चार्ज बुझाई १२ घन्टाभित्र ठेकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन हुन निर्देशानुसार अनुरोध’ गरिएको छ ।
प्रहरी अधिकारीलाई समयसीमा नै तोकेर निर्देशन दिनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । यस्तो अवस्थमा निर्देशन नमान्ने प्रहरी प्रमुखलाई प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने स्थिति आउन सक्ने अवस्था रहने प्रहरी अधिकारी बताउँछन् ।
प्रहरी प्रधान कार्यालयले यही पुस ४ गते एसपी मल्लसहित २४ एसपीहरुको सरुवा गरेको थियो । चितवनमा एसपी मल्लको स्थानमा महिला प्रहरी प्रमुखका रुपमा एसपी गंगा पन्तको चितवनमा सरुवा भएको थियो । एसपी मल्लले रमाना नलिएपछि चितवन प्रहरी प्रमुखमा पन्तले जिम्मेवारी सम्हाल्न पाएकी छैनन् ।
एसपी मल्लको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्रहरी कार्यालयमा सरुवा भए पनि उनी अटेर गरी चितवनमै बसिरहेका छन् ।
प्रदेशको पत्रअनुसार एसपी मल्ल आज साँझसम्म त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा हाजिर भइसक्नु पर्नेछ ।