
बाजुरा- नेपालको सुदूरपश्चिम हिमाली गाउँपालिका ७ स्थित बाधुको कालडाँडा भीरबाट जिप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख उद्धवसिंह भाटका अनुसार से १ ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । मृतक चारमध्ये गाडी चालक तथा गाडी मालिक जगन्नाथ गाँउपालिका गोत्री घर भएका रमेश शाहीको मात्र पहिचान भएको प्रहरीले जनाएको छ । घटनामा एकजना बेपत्ता छन् भने चारजना घाइते अवस्थामा फेला परेका छन् ।
जिप हिमाली गाँउपालिकाको धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ । जिपमा ९ जना यात्रु रहेको खुल्न आएको छ । घाइतेहरुको उद्धार गरी उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको गरेको प्रहरीले जनाएको छ ।
जिप सडकबाट ५०० मिटर तल ठूलो भीरबाट नदीमा खसेको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी टोली घटनास्थलमा पठाएको प्रमुख प्रमुख उद्धवसिंह भाटले बताए ।