
-ध्रुवराज लामिछाने
चितवन- पूर्वी चितवनको रत्ननगरमा हुन लागेको रत्ननगर महोत्सव–२०७६ अन्तर्गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म चिकेन एण्ड एग फुड फेस्टिवलको आयोजना गरिने भएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा यही पुष २५ गतेदेखि माघ ४ गतेसम्म टिकौली चौरमा हुने १०औँ रत्ननगर महोत्सवको अवसर पारेर सौराहाचोकको बसपार्कमा चिकेन एण्ड एग फेस्टिवल गर्न लागिएको फेस्टिवलका संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञानबहादुर बिसुरालले जानकारी दिए ।
उनले कुखुराको मासु र अण्डाको खपत बढाउन, विभिन्न जातजातिको खानाको प्रर्वद्धन गर्न फेस्टिवल आयोजना गरिएको नेपालीको आवाज डटकमलाई बताए ।
बिसुरालले फेस्टिवलका लागि ५० वटा स्टल रहने र बिहीबारसम्म ३० वटा स्टल बुक भइसकेको बताए । फूड फेष्टिवलमा अण्डाका १६ परिकार, कुखुराको उपभोक्ताको चाहनाअनुसारका परिकार, बंगुरका परिकार तथा विभिन्न जातजातिका संस्कृतिसँग जोडिएका परिकारहरुको स्वाद चाख्न पाइने बताए ।
पोल्ट्रीजन्य उत्पादनमा अग्रणी जिल्ला चितवनको पूर्वी क्षेत्रमा ६० प्रतिशत पोल्ट्रीजन्य उत्पादन हुँदै आएको छ । फेस्टिवलको सहयोगी संस्थाहरुमा पूर्वी चितवन कुखुरा व्यवसायी संघ, रत्ननगर नगरपालिका, नेपाल मावि तथा प्रायोजकमा जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज र सहप्रायोजकमा किसान दाना उद्योग रहेका छन् ।
यही पुस २५ गतेबाट रत्ननगर महोत्सव २०७६ सुरू हुँदैछ । रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको सो महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उदघाटन गर्ने कार्यक्र रहेको संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए ।