चितवन- सरुवा हुँदा पनि शक्तिको आडमा चितवनमै अटेरी गर्दै बसेका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले अन्ततः दुई सातापछि रमाना पत्र बुझेका छ्न् । उनले शुक्रबार दिउँसो डीएसपीलाई चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका हुन् ।
एसपी मल्लले जिल्लाका डीएसपीलाई चार्ज बुझाएको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ । एसपी मल्ल शुक्रबारै चितवनबाट काठमाडौँ गएका छन् । सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि मल्लको चौतर्फी चर्को आलोचना भएको थियो । उनले सरुवा भएको १३ दिनसम्म पनि जिल्ला नछाडेपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालयले १२ घन्टाभित्र रमाना लिन निर्देशन दिएको थियो । मल्लले सो निर्देशनको पनि अवज्ञा गरेका थिए ।

मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले महिला एसपी गंगा पन्तलाई सरूवा गरेको छ । प्रहरी प्रधान कार्यालयले पुस ४ गते मल्लको सरूवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा गरेको थियो ।
एसपी मल्ल नेकपा अध्यक्ष प्रचण्डका पूर्व निजी सुरक्षा गार्ड रहेका कारण प्रचण्ड परिवारसँग निकट मानिन्छन् । सोही सम्बन्धका कारण उनले सरुवा हुन अटेरी गरेको बुझाइ आमसर्वसाधारणमा रहेको थियो ।
प्रहरी चेन अफ कमाण्डमा चल्ने संस्था भएकाले मल्लको अटेरी र बलमिच्याइँ निरर्थक सावित भएको छ ।

तपाईको प्रतिक्रिया