चितवन- दसौँ संस्करणको रत्ननगर महोत्सव–२०७६ को तयारी तीव्र पारिएको छ । यही पुस २५ देखि माघ ७ गतेसम्म रत्ननगरको टिकौली चौरमा सञ्चालन हुने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महोत्सव सुरु हुन एक हप्ता बाँकी रहँदा महोत्सवका लागि गेट तथा स्टल निर्माणको काम, आन्तरिक तयारी तथा प्रचारप्रसारको कार्य तीव्र रुपमा अगाडि बढाइएको महोत्सव आयोजक रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए ।
उनका अनुसार महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न जातजातिका साँस्कृति महत्त्वलाई झल्काउने गरी घर निर्माण कार्यसमेत भइरहेको छ ।
महोत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका पाँच सय स्टल रहने महोत्सव संयोजक रेग्मीले बताए । पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबारसमेत हुने आयोजकले अपेक्षा राखेको छ ।
महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । महोत्सवमा सबै स्टल बुकिङ भइसकेको र थप स्टल थप गर्न सकिने अवस्था नरहेको रेग्मीले बताए ।

रत्ननगर महोत्सवमा कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता दिइएको छ । यसपटकको १०औँ संस्करणको महोत्सवमा नेपाल भ्रमण वर्ष २०२० को प्रर्वद्धनलाईसमेत प्राथमिकता दिइएको आयोजकले जनाएको छ । भ्रमण वर्षलाई केन्द्रित गरी हेलिकप्टरमार्फत चितवनका पर्यटकीयस्थलहरुको भ्रमण गराउने व्यवस्थासमेत मिलाइएको संयोजक रेग्मीले बताए ।

महोत्वसमा ‘चिकेन एण्ड एग फेस्टिबल’ समेत आयोजना गरिएको छ । यो फेस्टिबल पुस २९ देखि माघ ४ गतेसम्म पाँच दिन चल्ने र महोत्सवमा गरिने यस प्रकारका फेस्टिबल मासु र अण्डाको खपत बढाउन सहयोगी हुने पोल्ट्री व्यवसायी एवम् उद्योग वाणिज्य संघ रत्ननगरका पूर्वअध्यक्ष ज्ञानबहादुर बिसुरालले बताए ।

तपाईको प्रतिक्रिया