चितवन- नेपाल भ्रमण वर्ष सन् २०२० लाई सहयोग गर्न र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा आयोजित १६औँ हात्ती महोत्सव शुक्रबार समापन भएको छ ।
प्रदेश नं ३ का प्रमुख विष्णु प्रसाईंको प्रमुख आतिथ्यतामा महोत्सव सम्पन्न भएको हो । क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाले हरेक वर्ष हात्ती महोत्सव आयोजना गर्दै आएको छ ।
कुलमान घिसिङ सम्मानित
कार्यक्रममा देशलाई लोडसेडिङमुक्त बनाउन विशेष भूमिका खेल्ने नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई प्रदेश प्रमुख प्रसाईं र क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरेका हुन् ।
महोत्सवको अन्तिम दिन हात्ती पोलो तथा हात्तीका छावाहरुबीच फुटबल प्रतियोगिताको फाइनल भएको थियो ।
शुक्रबार बिहानैदेखि प्रतिकूल मौसमका कारण दुवै खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । हात्ती पोलोमा खैरहनी नगरपालिकाले रत्ननगर नगरपालिकालाई पराजित गर्दै यस वर्षको उपाधि हासिल गरेको प्रतियोगिता संयोजक अञ्जन पाण्डेले बताए ।
खैरहनीले पेनाल्टीमा १ गोल गर्दा रत्ननगरले कुनै पनि गोल गर्न सकेन । ३/३ जनाले पेनाल्टी प्रहार गरेकोमा खैरहनीको तर्फबाट २ बल बाहिरिन पुग्दा रत्ननगरको ३ वटै प्रहार विफल भएको संयोजक पाण्डेले बताए ।

त्यस्तै हात्तीका छावाहरुको फुटबलको उपाधि चितवन उद्योग संघले जितेको छ । पेनाल्टीमार्फत् गरिएको फाइनल खेलमा चितवन उद्योग संघ २–० ले विजयी भएको हो । संघका लागि सौराहाजग र रिमझिमकलीले समान एक एक गोल गरेका थिए ।

समापन कार्यक्रम क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईको अध्यक्षतामा भएको थियो । पुस १० गतेदेखि सुरु भएको महोत्सवमा हात्ती पोलो र फुटबलबाहेक हात्ती श्रृंगार, हात्ती सुन्दरी प्रतियोगिता, गाडा श्रृंगार, हात्ती वनभोज, महिला बिच भलिबल, डुंगा दौड, हात्ती फास्ट वाक प्रतियोगितालगायतका गतिविधि सञ्चालन भएका थिए ।

महोत्सव अवधिभर ख्यातिप्राप्त कलाकारहरुले दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

तपाईको प्रतिक्रिया