चितवन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस र कम्युनिस्टभन्दा पहिले नेपाली हौँ भन्ने बुझ्नुपर्ने बताएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिकास्थित कुरिनटारमा रहेको सर्वशान्ति माविको स्वर्णमहोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि युवा नेता शर्माले देश बनाउनका लागि कांग्रेस, कम्युनिस्ट भन्दा माथि उठेर नेपाली बनेर एकजुट हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘सबैको सहयोग संयोजन गर्न नेतृत्व लिने अर्थात् विचार संयोजन गर्ने काम राजनीतिक दलको भए पनि देश बनाउने काम तपाईं हामी सबैको हो, त्यसैले देश बनाउन एकजुट हुन जरुरी छ ।’
उनले सयौँ बालबालिकाको भविष्यसँग जोडिएको सर्वशान्ति माविका लागि आगामी दिनमा कुनै सहयोग आवश्यक परे कांग्रेस पार्टीको ढोका तथा विश्वप्रकाश शर्माको ढोका सदैव खुला रहने विश्वास व्यक्त गरे ।
गत आइतबारदेखि सुरु भएको कुरिनटारस्थित सर्वशान्ति माविको स्वर्णमहोत्सवका अवसरमा पूर्व विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै स्थानीय कलाकारहरुले सांगीतिक प्रस्तुतिसमेत दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि सापकोटाको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङलगायतले मन्तव्य राखेका थिए ।