
चितवन- रत्ननगरको पिठुवाका व्यावसायिक पशुपालक कृषकलाई काउमेट वितरण गरिएको छ ।
रत्ननगर १६ मा रहेको पिठुवा दुग्ध उत्पादक सहकारी संस्था, भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था, नवजन कल्याण दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध १८१ व्यावसायिक कृषकलाई वडाको आर्थिक वर्ष ०७६/७७ को वार्षिक बजेटबाट ५० प्रतिशत अनुदानमा शनिबार काउमेट वितरण गरिएको हो ।
वडाध्यक्ष हेमराज थापाले काउमेट हस्तान्तरण गरे । थापाले काउमेटको सही सदुपयोग गर्न कृषकलाई आग्रह गर्दै अनुगमन गर्दा दुरुपयोग भएको पाइएमा वडाले जफत गर्ने चेतावनीसमेत दिए ।
कार्यक्रममा पशु विकास अधिकृत शालिकराम पौडेल, कृषि सेवा केन्द्र पिठुवाका प्रमुख रामभजन साह, दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिव किशोर बगालेलगायतको उपस्थिति रहेको थियो ।