
चितवन- राप्ती नगरपालिका वडा नं ५ भण्डारामा रहेको राप्ती बचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । शनिबार प्रतिनिधि सभा सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
पूर्वअर्थमन्त्री पाण्डेले राज्यको तीन खम्बे अर्थ नीतिमा सहकारी एक खम्बा रहेको उल्लेख गर्दै हरेक सहकारीहरु मजबुत हुनुपर्ने धारणा राखे । देशको कुल गार्हस्थ उत्पादनमा सहकारीको योगदान निजी संस्थाहरुको तुलनामा कमजोर रहेकोले यसलाई सुधार गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ थियो ।
उनले सहकारी गरिबको साथी भएकाले सामन्य नागरिकको पहुँच पुर्याउन सोही खालका नीति तथा कार्यक्रमहरु बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाका अध्यक्ष परशुराम पाठकले नीति तथा भावी कार्यक्रमसहितको प्रतिवेदन प्रस्तुत गर्दै ससाना पुँजीलाई एकत्रित गरी उत्पादनशील क्षेत्रमा उपयोग गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको बताए ।
उनले २०/२५ जनाको समूहले गत साउनदेखि सहकारी सञ्चालनमा ल्याएको र छिट्टै बहुउद्देश्यीय सहकारीको रुपमा विकास गर्ने अवधारणा रहेको जानकारी दिए । कार्यक्रममा राप्ती नगरपालिका वडा नं ३ का अध्यक्ष राजकुमार उप्रेती, वडा नं ५ का अध्यक्ष मेनुका पाठक, वडा नं ६ का अध्यक्ष जल्लु महतो, उद्योग वाणिज्य संघ राप्तीका वरिष्ठ सदस्य पूर्णबहादुर थापालगायत जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
संस्थाका कोषाध्यक्ष सन्तोष उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रम सचिव डिल्लीप्रसाद थपलियाले सञ्चालन गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष परशुराम पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो । ६ महिनाअघि गत साउनमा स्थापना भएको सहकारीले छोटो अवधिमा नै २२७ जनाभन्दा बढी सदस्य विस्तार गरिसकेको छ ।
संस्थाको कुल पुँजी ८९ लाख ५१ हजार २८० रहेको छ भने संस्थाले हालसम्म २ करोड ६५ लाख ९२ हजार ४१८ ऋण लगानी गरेको छ ।