चितवन- चितवनमा ऐतिहासिक १०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघी मेला महा महोत्सव एवम् सङ्गीतमय, लीलामय १०८ श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञानमहायज्ञ आयोजना हुने भएको छ ।

एक महिनासम्म सञ्चालन हुने महामहोत्सव आगामी माघ ११ गतेदेखि नारायणी नदी किनारमा गर्न लागिएको शनिबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा महायज्ञका प्रमुख वाचक बालयोगेश्वर महाराजले नेपाल भ्रमण वर्ष २०२० को पावन अवसरमा धार्मिक पर्यटन प्रर्वद्धन गर्ने, भरतपुर २३ जगतपुरमा रहेको पशुपतिनाथ मन्दिरलाई बृहतधामको रुपमा विकास गर्ने, चितवनमा नै पहिलो आयुर्वेदिक शिक्षालय स्थापना गर्ने र क्यान्सरबाट पीडित विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको बताए ।

कोटीहोम पीठाधीश धर्मपाल गुरु वशिष्ठको सनिध्यतामा हुने कोटीहोम यज्ञबाट जलवायु परिवर्तन तथा वायु प्रदूषणलाई न्यूनीकरण गराउनका लागि विभिन्न जडिबुटी तथा तरल पदार्थबाट हवन गरिने बालयोगेश्वरले बताए ।

एक महिने महायज्ञमा देशभरका १० लाख भक्तजनले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महायज्ञमा ३५ हजार रुपैयाँ दान गर्ने व्यक्तिको एक जना, ६० हजार रुपैयाँ दान गर्ने व्यक्तिको दुई जना, ८५ हजार रुपैयाँ दान गर्ने व्यक्तिको तीन जना र एक लाख रुपैयाँ दान गर्ने व्यक्तिको चार जना परिवारलाई हेलिकप्टरमा चढाएर कोटीहोम महायज्ञ स्थलबाट पवित्र तीर्थस्थल देवघाट र मौलाकालिका मन्दिरको दर्शन गराइने बालयोगेश्वरले बताए ।

त्यस्तै, महायज्ञ अवधिभर कन्या तथा ज्येष्ठ नागरिकको सम्मान गरिने, निःशुल्करुपमा ब्रतबन्ध गरिने, पाँच हजार एक सय रुपैयाँमा पञ्चेबाजासहित विवाह गराएर गाडीमा घर पढाउने तथा निःशुल्क रुपमा जन्तीलाई समेत भोज खुवाउने व्यवस्था गरिएको महायज्ञका मूल वाचक वालयोगेश्वरको भनाइ छ ।
पैसा नभएर विवाह कर्म गर्न नसकेका व्यक्तिलाई लक्षित गर्दै पाँच हजार एक सय रुपैयाँमा विवाह गराउन लागिएको उल्लेख गर्दै वालयोगेश्वरले विवाह गर्नका लागि संविधानले तोकेको उमेर पुगेका केटाकेटी आएको खण्डमा विवाह सम्पन्न गरिने बताए ।

एक महिने महायज्ञबाट संकलन भएको रकममध्ये पाँच लाख रुपैयाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि तथा प्रमुख वाचक वालयोगेश्वरको तर्फबाट नेपाल पत्रकार महासंघ चितवन शाखाको अक्षयकोषका लागि पाँच लाख ५५ हजार रुपैयाँ प्रदान गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

महायज्ञबाट २५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ भने करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया