काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार रु ७४ हजार ५०० मा कारोबार भएको छापावाला सुन साताको पहिलो दिन बजार खुल्नेबित्तिकै एक हजारले वृद्धिभई तोलामा रु ७५ हजार ५०० कायम भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको लागि छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ तोकेको छ । तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७०० र चाँदीको मूल्य प्रतितोला रु ९२० मा कारोबार भएको छ ।
यही पुस १ गते छापावाला सुन प्रतितोला रु ७१ हजार ५०० मा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० मा कारोबार भएको थियो । आजसम्म आइपुग्दा छापावाल र तेजाबी सुन २० दिनको अन्तरालमा प्रतितोला रु चार हजार ५०० ले वृद्धि भएको छ । पुस १ गते प्रतितोला रु ८५० मा कारोबार भएको चाँदी आज २० दिनमा आइपुग्दा रु ७० ले वृद्धि भएको छ ।
महासंघका अनुसार गत मङ्सिरमा सामान्य अंकले ओरालो लागेको सुनचाँदीको बजारमा पछिल्ला दिनमा भने उल्लेख्य मूल्य वृद्धि भएको छ ।
गत मङ्सिर १ गते छापावाल सुन प्रतितोला रु ७१ हजार ८००, तेजाबी सुन, रु ७१ हजार ५०० र चाँदी प्रतितोला रु ८५५ मा कारोबार भएको थियो ।
सोही महिनाको २० गते छापावाला सुन प्रतितोला रु ७१ हजार ७००, तेजावी सुन रु ७१ हजार ४०० र चाँदी रु ८५० मा कारोबार भएको थियो ।
एक महिनाको अवधिमा भने छापावाला र तेजाबी सुन रु तीन हजार ८०० ले वृद्धि भएको छ । अमेरिका र इरानबीचको विवादले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको जनाइएको छ ।