चितवन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी विधानमाथि रहने सुविधा कसैलाई नरहेको भन्दै विधानअनुसार चल्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
नेपाली कांग्रेस रत्ननगर नगरसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले संविधानमाथि रहने दाउपेच गर्दा तत्कालीन राजा ज्ञानेन्द्रको कुन हालत भयो, त्यो स्मरण गर्न नेतृत्वलाई आग्रह गरे ।
“जति नै त्यागी तथा आर्दश नेतृत्व भए पनि विधानविरुद्ध चल्ने अधिकार कसैलाई छैन ” पौडेलले भने । मुलुकमा कम्युनिस्ट नेतृत्वको अधिनायकवादी सरकारविरुद्ध लड्ने बेलामा पार्टीभित्र गुटगत अभ्यास हावी भएकाले देशभरका कार्यकर्ता निराश भएको भन्दै पौडेलले गुट विशेषका नभई तमाम कार्यकर्ताको साझा नेता बन्न सभापतिलाई सुझाव दिए ।
फरक प्रसंगमा पौडेलले आफ्नो भूमिको सुरक्षा गर्न नसक्ने वर्तमान सरकार कसरी जनताको सरकार हुन सक्छ भनी प्रश्न गरे । वाइडबडी घोटाला, बालुवाटार जग्गा काण्ड, राज्यको सम्पत्तिमा यति समूहको दोहनजस्ता घटनाबाट सरकार नीतिगत रुपमै भष्टाचारीको संरक्षणमा जुटेको प्रमाणित भएको उनले बताए ।
पाइला पाइलामा जनताबाट कर उठाइरहेको सरकार कर्मचारीलाई तलब खुवाउन भने विदेशीसामु लम्पसार परेको भन्दै पौडेलले देशको अर्थतन्त्र धाराशायी भइसकेको दाबी गरे ।
लोकतान्त्रिक समाजवादको जगमा अडेर पार्टीका आधारभूत मूल्य, मान्यता तथा सिद्धान्तको पुर्नव्याख्या गर्नु कांग्रेसको आजको आवश्यकता भएकोसमेत पौडेलले बताए ।