विकास पौडेल
चितवन- रत्ननगर नगरपालिकाको राजमार्ग क्षेत्र यतिबेला निकै रंगीचंगी बनेको छ । रत्ननगरसँगै जिल्ला प्रवेश गर्ने नाकाहरु, जिल्लाभित्रका विभिन्न बजार केन्द्रहरुमा पनि अहिले व्यानरहरुले भरिभराउ भएका छन् ।
आ–आफ्ना पसलअगाडि व्यानरमा रत्ननगर महोत्सवमा पाल्नुहुने प्रमुख अतिथि, विशेष अतिथि, अतिथि एवं सम्पूर्ण पाहुनाहरुलाई स्वागत गर्दछौँ भनेर लेखिएका व्यानर र सडकमा राखिएको झण्डाले रत्ननगर बजार दुलही झैँ सिगारिएको छ । रत्ननगर र समग्र जिल्लाको प्रतिष्ठासँग महोत्सव जोडिएको भन्दै रत्ननगरवासीलाई महोत्सव सफल बनाउन अहिले भ्याइ–नभ्याई भएको छ ।

उद्योगी, व्यापारी, संघसंस्था, सरकारी कार्यालयलगायतले बजारमा स्वागतका व्यानरहरुले रंगिचंगी बनाएका छन् ।

‘समग्र चितवनको गौरव र गरिमामय प्रस्तुति’ भन्ने मूल नाराका साथ पुस २५ गते शुक्रबारदेखि महोत्सव संचालन हुन लागेको छ । महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने कार्यतालिका तय भएको उद्योग वाणिज्य संघ रत्नगरका अध्यक्ष एवं महोत्सवका संयोजक राजाराम रेग्मीले जानकारी दिए ।

रत्ननगर र समग्र चितवनलाई कृषि पर्यटन र व्यापार क्षेत्रमा अगाडि बढाउन र चितवनको पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गरी पर्यटन क्षेत्रमा चितवन र रत्ननगरलाई चिनाउनको लागि प्रत्येक दुई/दुई वर्षमा महोत्सव संचालन गरिँदै आएको संघले जनाएको छ ।

महोत्सवको जिल्लाभित्र र अन्य आसपासका जिल्लाहरुमा समेत व्यापक प्रचार भएको आयोजक उद्योग वाणिज्य संघ रत्ननगरले जनाएको छ ।

पर्यटन प्रर्वद्धन र स्थानीय उत्पादनको वजारीकरणलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसार गर्न महोत्सवले थप टेवा पु¥याउने संघका अध्यक्ष रेग्मीले बताए ।
महोत्सवमा करिब १ करोडभन्दा बढीको लागत लाग्ने अनुमान गरेको छ भने यसबाट ५० करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षासमेत आयोजक संस्थाले गरेको छ ।

महोत्सवका मुख्य आकर्षकहरु स्थानीय उत्पादन र घरेलु निर्माण सामग्रीहरुको खरिद-बिक्री तथा अवलोकन, कृषि परिसर, स्थानीय सामाजिक संस्कारमा आधारित विभिन्न झाँकीहरु प्रदर्शन, सांस्कृतिक घरहरु प्रदर्शन र राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुतिहरु रहने छ ।

यस वर्ष भ्रमण वर्षलाई मध्यनजर गर्दै जीपलाइन सफारी संचालन गर्ने संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया