चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न समयमा हराएका मोबाइल फोन सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ ।
चितवन प्रहरीको अप्रेसन क्लिन चितवन अभियानअन्तर्गत फेला परेका करिब छ लाख २५ हजार मूल्य बराबरका ३३ थान मोबाइल मंगलबार सम्बन्धित मोबाइल धनीको जिम्मा लगाएको हो ।
चितवन प्रहरीको सूचना संकलन तथा अन्वेषण शाखा परिसरमा निमित्त चितवन प्रहरी प्रमुख डीएसपी एकनारायण कोइरालाले भेटिएको माबाइल सम्बन्धित व्यक्तिहरुलाई फिर्ता दिएका थिए ।
हराएको मोबाइल फिर्ता पाएपछि सम्बन्धित मोबाइल धनीले प्रहरीको सकारात्मक सहयोग भन्दै धन्यवाद दिएका थिए ।
विभिन्न मितिमा हराएको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा दिएका निवेदनको आधारमा विशेष प्रविधिको प्रयोग गरी खोजतलास तथा अनुसन्धान गरी विभिन्न ब्राण्डका ३३ थान मोबाइल फोन डीएसपी कोइरालाले सम्बन्धित मोबाइल धनीको जिम्मा लगाएका हुन् ।
कार्यालयका आईटी शाखाको सक्रियतामा विशेष प्रविधिको प्रयोग गरी यसअघि हराएका तथा चोरी भएका २० लाख मूल्य बराबरका ९३ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।