चितवन- यही पुस २५ गतेदेखि माघ ७ गतेसम्म हुन लागेको रत्ननगर महोत्सवअन्तर्गत यसवर्ष केराखेतीको प्रर्वद्धनका लागि चितवनका केरा किसानहरुको बगैचा प्रतियोगिता हुने भएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै केरा, पोल्ट्री, महलगायत रैथाने बालीको संरक्षणका लागि विभिन्न कार्यक्रम गरिँदैछ ।
चितवनमा केराखेती फष्टाउँदै गएको छ । किसानलाई लगानीको वातावरण बनाउन र उनीहरुले गरेको कामको प्रशंसास्वरुप महोत्सवमा केरा बगैचा प्रतियोगिता गर्न लागिएको कृषि प्रर्वद्धन समितिका संयोजक ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।
प्रतियोगितामा पूर्वी चितवनका चार नगरपालिकाभित्र खेराखेती गर्ने किसानहरुको सहभागिता रहने छ । किसानको बगानमै पुगेर बगैचाको मूल्यांकन गरी पुरस्कृत गरिने अर्यालले बताए ।
यसका अतिरिक्त वन्यजन्तुका आर्कषक चित्रसहित सेल्फी डाँडा, जीपलाइन सफारी, पञ्चकन्या सामुदायिक वनमा जीप सफारी, हेलिकप्टरमा पर्यटकीय क्षेत्रहरुको अवलोकनलगायतका कार्यक्रम समावेश गरिएको महोत्सव मूल समारोह समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिए ।
महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको छ । महोत्सवको पुस २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनअघि नेपाल माविको प्राङ्गढबाट विशाल शोभायात्रा निकालिने छ ।
महोत्सव परिसरमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रर्वद्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन करिब ५०० वटा स्टल रहने छ ।
यसपटकको महोत्सवमा ५ लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संघका महासचिव निराजन खनालले जानकारी दिए ।
विगतका वर्षहरुमा जस्तै महोत्सवअन्तर्गत पुस २९ देखि ४ गतेसम्म ५ दिन रत्ननगरको टाँडीबजारमा मासुको खपत बढाउन, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकारसहित पोल्ट्री विशेष तेश्रो चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना गरिएको छ ।
यसपटकको फेस्टिबलमा पोल्ट्रीजन्य उत्पादनलाई विशेष प्राथमिकतामा राखिएको छ । फेष्टिवलमा कुखुराको मासु र अण्डाका परिकारहरुको प्रर्दशनी गरिने संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए ।