
काठमाडौँ- भक्तपुरमा नर्सिङ अध्ययन गरिरहेको कलेज नै खारेज भएपछि विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ ।
सीटीईभीटीबाट माज्यताप्राप्त सानोठिमी भक्तपुरस्थित चक्रवर्ती हवी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्सले कलेज खारेजीपश्चात् पनि विद्यार्थी भर्ना लिएपछि विद्यार्थीहरु एक वर्षदेखि परीक्षा दिनबाट वञ्चित भएका छन् ।
अदालतबाट स्टे अर्डर ल्याएर विद्यार्थी भर्ना गरेको सुन्दा छाँगाबाट खसेजस्तै भएको पीडित विद्यार्थी अनुष्का चौलागाईंले बताइन् ।
उनले भनिन् ‘जीवनमै सबैभन्दा ठूलो पीडा अनुभूति भएको छ । कलेजले हामीलाई धोका दिएको छ, सीटीईभीटीदेखि मन्त्रालयसम्मले हाम्रो कुराको सुनुवाइ गरेको छैन । एक वर्ष त्यसै बितेको छ, दोस्रो वर्षको परीक्षा आउँदैछ, यस वर्ष पनि परीक्षा दिने व्यवस्था सरकारले गरिदिएन भने सिंहदरबारअगाडि सामूहिक आत्मदाह गछौँं ।’
चक्रवर्ती नर्सिङ कलेजले पीसीएल पहिलो वर्ष अध्ययनरत ३० जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।