चितवन- रत्ननगरको टिकौली खेल मैदानमा पुस २५ गतेदेखि माघ ७ गतेसम्म हुन लागेको रत्ननगर महोत्सवको सबै तयारी पूरा भएको छ । आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् मूल संयोजक राजाराम रेग्मीले महोत्सवको सबै तयारी पूरा भएको जनाएका छन् ।
चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवद्र्धन गर्दै चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र सम्वद्र्धनमा रत्ननगर महोत्सवले विशिष्ट र दूरगामी महत्व बोकेको मूल संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बताए ।
प्रत्येक दुई वर्षमा आयोजना गरिने महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको रेग्मीले बताए ।
महोत्सव अवधिभर व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिंचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, प्लान्ट क्लिनिक, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई जोड दिइएको रेग्मीले बताए ।
माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउबिजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर हुने जानकारी दिइएको छ । महोत्सवलाई सुरक्षित बनाउनका लागि सीसीटीभी क्यामेराबाट निगरानी गरिनुका साथै पाँच करोड रुपैयाँ बराबरको बिमा समेत गरिएको रेग्मीले बताए ।
यसपटकको महोत्सवमा जिप लाइन र सेल्फी प्वाइन्ट विशेष आकर्षणको रुपमा राखिएको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष रेग्मीले जानकारी दिए ।
वन्यजन्तुका आकर्षक चित्रसहित सेल्फी डाँडा बनाइएको महोत्सवका मूल संयोजक समेत रहेका अध्यक्ष रेग्मीले जानकारी दिए । महोत्सवले कृषि र पर्यटनलाई आधार बनाएर अगाडि बढिरहेको र महोत्सवलाई हरेक वर्ष फरक–फरक आकर्षणका साथ प्रस्तुत गर्दै आएको उनको भनाए छ ।
पुस २५ देखि माघ ७ गतेसम्म हुने सो महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटनअघि नेपाल उच्च माविको परिसरबाट शोभायात्रासहितको भव्य र्याली निकालिने भएको छ । उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव परिसरमा स्वदेशी तथा विदेशी गरी ५२१ स्टल बुकिङ भएका छन् ।
महोत्सवमा च्याउ टनेल, माछा पोखरी, रेष्टुरेन्ट तथा खाना, अटोमोबाइल्सका छुट्टाछुट्टै स्टल रहनेछ भने विभिन्न जातजातिका आठवटा सांस्कृतिक घर रहने छन् । यस पटकको महोत्सवमा पाँच लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने तथा करिब ५० करोड रूपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको उनले बताए । पाँच लाख दर्शकले महोत्सव अवलोकन गर्ने भन्दै रेग्मीले सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीका लागि २५ रुपैयाँको टिकटको व्यवस्था गरिएको बताए ।
महोत्सवअन्तर्गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म रत्ननगरको टाँडी बजारमा तेस्रो चिकेन एण्ड एग फुड फेस्टिबलसमेत आयोजना गरिएको संयोजक ज्ञानबहादुर विसुरालले बताए ।