चितवन- चितवन मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा संघर्षरत विद्यार्थीले पाँच् महिनादेखि लगाएको ताला शर्तसहित खुलाएका छन् ।
चिकित्सा शिक्षामा सरकारले तोकेभन्दा बढी शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै चरणवद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका विद्यार्थीले पाँच महिनादेखि विद्यार्थीको पढाइ अवरुद्ध भएको र वार्षिक परीक्षा नजिसकिँदै आएकोले आन्दोलनको स्वरुप परिवर्तन गरी भरतपुर महानगर ५ कैलाशनगरस्थित सीएमसी गेटमा लगाएको ताला खोल्ने निर्णय गरेका हुन् ।

विद्यार्थीले आन्दोलन जारी रहेको तर स्वरुपमात्रै फरक रहेको बताएका छन् । मंगलबार कलेज प्रशासनससँग आठ बुँदे सहमतिपश्चात् ताला खोलिएको हो ।

विद्यार्थी र अभिभावकले कलेज प्रशासनसँग विद्यार्थीमाथि दमन भइरहेकाले सुरक्षाको ग्यारेन्टी, पठनपाठन नियमित सुचारु गर्ने, आन्दोलनका क्रममा परीक्षा छुटेका सबै संकायका विद्यार्थीका लागि नयाँ परीक्षा तालिका सार्वजनिक गरेर वार्षिक परीक्षामा सामेल गराउनुपर्ने, त्रिविले तोकेबमोजिमकै परीक्षा शुल्क लिइनुपर्नेजस्ता शर्तसहितका सहमति भएको छ ।

यसैबीच, शुल्क समायोजनका नाममा कलेज प्रशासनले षडयन्त्रपूर्वक र झुक्याउने काम गर्न खोजे कलेजमा आर्थिक नाकाबन्दी गर्ने चेतावनी विद्यार्थीले दिएका छन् । विद्यार्थीको आन्दोलनप्रति अभिभावकहरुले आफ्नो नैतिक समर्थन रहेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया