
चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले गर्दासका सुकुमबासी परिवारलाई घर निर्माण गर्न लागेको छ ।
इच्छाकामना गाँउपालिका वडा नं ७ भालुमार सुन्दरबस्तीमा रहेका ४६ परिवारलाई पक्की घर बनाउन लागेको हो ।
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बुधबार शिलान्यास गरेकी छन् । वषौँदेखि चुहिने घरमा बसेका सुकुमबासीहरुका लागि जग्गाको व्यवस्थासहित घर बनाइदिन लागेको अध्यक्ष गुरुङले बताइन् । कुल ५५ लाख रुपैयाँको बजेटमा घर निर्माण गर्न लागिएको हो ।
यसै आर्थिक वर्षमा निमार्ण सकिने गरी शौचालय, खानेपानीको सुविधासहितको नमुना बस्ती बनाउन लागेको बताइन् । हरेक नागरिकको लागि स्थानीय सरकारले काम गरेको भन्दै योजना अघि बढाएको गुरुङले बताइन् । यसअघि घर चुहिने समस्या भोगेका उनीहरुका लागि गाउँपालिकाले जस्तापाता वितरण गरेको थियो । यसपटक घर निर्माण गरिएको छ ।
४६ घुरधुरीमध्ये ३५ परिवार चेपाङ छन् । त्यसपछि दलित र तामाङ समुदायका छन् । घर बन्ने कुराले खुसी भएका स्थानीयले गाउँपालिका अध्यक्ष गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, वडाध्यक्ष मानबहादुर थापा ‘विजय’ लगायतलाई फूलमालाले स्वागत गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले नमुना बस्ती निर्माणको योजनाअनुसार काम गर्न थालेको बताए । सुरक्षित बसोबास र सुकुमबासीको खुसीका लागि आफूहरुले काम अघि बढाएको उनले बताए ।
वडा नं ७ का वडाध्यक्ष मानबहादुर थापा ‘विजय’ले घरबारविहीन परिवारलाई बसोबासको व्यवस्था मिलाएको बताए । उनले वडावासीका चाहनाअनुसार विकासको कार्यक्रम गरिएको बताए ।