चितवन- भरतपुर महानगर १५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा धनधान्याचल महायज्ञ आयोजना गर्ने भएको छ ।
रंगशहाला निर्माणमा सहयोग पुगोस् भन्ने हेतुले ५० करोड रुपैयाँ उठाउने लक्ष्यसहित निर्माणाधीन रंगशाला परिसरमै माघ १९ गतेदेखि २६ गतेसम्म धनधान्याचल महायज्ञ आयोजना गर्न लागिएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए ।
धनधान्याचल समारोह समितिको आयोजनामा वाचन शिरोमणि दिनबन्धु पोख्रेलले विशेष प्रवचन दिने र महायज्ञ उद्घाटन समारोहमा २१ खेलका सबै राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा तिनै खेलाडीबाटै उद्घाटन गरिने मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले बताए ।
धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेको रंगशालाको गत कार्तिकमा डीपीआर बनेपछि यतिबेला निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । आयोजना समयमै सम्पन्न गर्नको लागि आर्थिक अभाव नहोस भनेर फाउन्डेसनलाई व्यक्तिगत तथा सामूहिक सहयोगको अभियान जारी छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले भोगचलन गर्दै आएको २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने क्रिकेट रंगशाला कमलको फूल आकारको हुनेछ । नेपाली मौलिकता झल्कने रंगशालामा ३० हजार जना अट्ने क्षमताको हुने बताइएको छ ।
सुरुवातमा २५ हजार दर्शकमात्र अट्ने बनाउने भनिएकोमा ५ हजार क्षमता थपेर डीपीआर तयार गरिएको छ । रंगशालामा दुई भीआईपी प्याराफिटसमेत रहने बताइएको छ ।