चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि बुधबार र बिहीबार दिउँसोे पनि सडक बन्द हुने भएको छ ।
सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ
गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी काम हुँदै आइरहेको छ ।

सो कार्य नसकिएको हुँदा बिहीबार दिउँसो पनि सोही समयमा सडकखण्डमा सवारीसाधन रोकिने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

दुई हप्ताभित्र पहिरो नियन्त्रणको काम सक्नेगरी काम थालेको भए पनि काम नसकिएपछि दोस्रोपटक समयावधि थप गरिएको उनले बताए । सो अवधिमा अत्यावश्यक सवारी साधनलाईे प्रवेश दिइनेछ । सडकखण्डको आठ ठाउँमा पहिरो रोकथामको काम भइरहेको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङ्गामा रोकिनेछन् ।

यस्तै, मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आँबुखैरहनीमा रोकिने आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया